चिकित्सकको प्रेस्क्रिप्सनबिनै १३ कम्युनिटी फार्मेसीबाट प्रतिजैविक औषधिको बिक्री!

चिकित्सकको प्रेस्क्रिप्सनबिनै १३ कम्युनिटी फार्मेसीबाट प्रतिजैविक औषधिको बिक्री!

काठमाडौं : औषधि व्यवस्था विभागले ललितपुरका फार्मेसीमा छड्के अनुगमन गर्दा १३ वटा कम्युनिटी फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिना प्रतिजैविक औषधिको बिक्रीवितरण गर्ने गरेको फेला परेको छ।

विभागले ललितपुरका १६ वटा कम्युनिटी फार्मेसीको अनुगमन गरेको थियो। औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले ललितपुरका १६ वटा कम्युनिटी फार्मेसीको अनुगमन गर्दा १३ वटामा एन्टिबायोटिक औषधीको बिक्रीवितरण गरेको पाइएको बताए।

“ललितपुरका १६ वटा फार्मेसीमा अनुगमन गर्दा प्रतिजैविक औषधिको दुरुपयोग हुने गरेको देखिन्छ”, उनले भने, “सोह्र वटा कम्युनिटी फार्मेसीमध्ये १३ वटा फार्मेसीले चिकित्सकको प्रेस्क्रिप्सनबिना एन्टिबायोटिक ओभर द काउन्टर गरिरहेको पाइएको छ।”

यसरी बिनाप्रेस्क्रिप्सन एन्टिबायोटिक बिक्रीवितरण गर्ने फार्मेसीमा महालक्ष्मी-१ स्थित अन्विका फार्मेसी, भर्टेक्स फार्मेसी, इजी फार्मेसी रहेका छन्। 

यस्तै, ललितपुर महानगरपालिका-१५ स्थित विश्वास फार्मेसी, ललितपुर महानगरपालिका-२, ३, ४ र ७ मा रहेका केही फार्मेसी पनि रहेका छन्। महानिर्देशक भट्टराईले बिनाप्रेस्क्रिप्सन एन्टिबायोटिक बिक्रीवितरण गर्ने फार्मेसीलाई कानुनी कारबाही गरिने बताए।

कात्तिक २१, २०८३ शनिबार २१:५९:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।