चुरेको सौन्दर्यमा फोहोरको दाग, बुटवल-नुवाकोट तीन किलोमिटर क्षेत्रमै ५० क्विन्टलभन्दा बढी फोहोर

चुरेको सौन्दर्यमा फोहोरको दाग, बुटवल-नुवाकोट तीन किलोमिटर क्षेत्रमै ५० क्विन्टलभन्दा बढी फोहोर

बुटवल : बुटवलको उत्तरतर्फ उभिएर सहरलाई नियाल्दा देखिने हरिया डाँडा, घना वनजङ्गल र प्राकृतिक दृश्य यहाँको पहिचान हुन्। गर्मी छल्न, प्रकृतिसँग रमाउन र सहरको कोलाहलबाट टाढिन दैनिक सयौँ मानिस यही पहाडी क्षेत्रमा पुग्छन्।

तर, पछिल्लो समय यही सुन्दर दृश्यको अर्को कुरूप पाटो पनि देखिन थालेको छ। घुम्न आउनेहरू फर्किंदा आफूले खाएका खानेकुराका खोल, पानीका बोतल र मदिराका सिसा जङ्गलमै छाडेर हिँड्न थालेपछि चुरेको सौन्दर्य बिस्तारै फोहोरको थुप्रोमा परिणत हुँदैछ।

बुटवलको शान्तिचोकदेखि नुवाकोट जाने सडक आसपास, पाणिनी उद्यान, जितेश्वरी सामुदायिक वन र लाहुरे डाँडातर्फका क्षेत्रमा प्लास्टिकजन्य फोहोर तथा सिसाका बोतलको समस्या विकराल बन्दै गएको छ।

कतिपय स्थानमा खाजा खाएर फालिएका प्लास्टिकका प्लेट, चाउचाउका खोल, चुरोटका ठुटा र मदिराका बोतल यत्रतत्र छरिएका भेटिन्छन्।

वनभित्रका झाडी, सडक किनार र दृश्यावलोकन गर्ने स्थल आसपास थुप्रिएका यस्ता फोहोरले प्राकृतिक सौन्दर्य मात्र बिगारेको छैन, वातावरणीय स्वच्छतामाथि समेत गम्भीर प्रश्न उठाएको छ।

पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा नुवाकोटको आकर्षण बढ्दै गए पनि फोहोर व्यवस्थापनको प्रभावकारी प्रबन्ध नहुँदा प्रकृतिको आनन्द लिन पुगेकाहरूबाटै प्रकृतिमाथि फोहोरको भार थपिँदै गएको छ।

सरसफाइ गर्दा भेटियो फोहोरको डरलाग्दो परिमाण
नुवाकोट क्षेत्रमा फोहोरको समस्या कति गम्भीर बन्दै गएको छ भन्ने तथ्य पछिल्लो समय भएका सरसफाइ अभियानले प्रस्ट पारेका छन्।

विश्व वातावरण दिवस २०८२ को अवसरमा पर्यावरण संरक्षण समाज नेपालको आयोजनामा बुटवल-नुवाकोट सडक खण्डमा बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको थियो।

वन निर्देशनालय, बुटवल उपमहानगरपालिका, नेपाल प्रहरी, सामुदायिक वन उपभोक्ता समूह, टोल विकास संस्था र विभिन्न संघसंस्थाको सहभागितामा भएको उक्त अभियानमा करिब ६०० जना परिचालित भएका थिए।

बेलबास बदेलपोखरीबाट सुरु भएको तीनघण्टे अभियान पाणिनी उद्यान र जितेश्वरी सामुदायिक वन हुँदै लाहुरे डाँडासम्म पुगेको थियो, जहाँबाट ठूलो परिमाणमा प्लास्टिक र सिसाजन्य फोहोर संकलन गरियो।

त्यसपछि २०८३ जेठ २३ गते पर्यावरण समाजको आयोजनामा नुवाकोट क्षेत्रको वनमा अर्को बृहत् सरसफाइ अभियान सञ्चालन गरियो।

१ हजार २ सयभन्दा बढी नागरिक सहभागी उक्त अभियानमा बुटवल उपमहानगरपालिका-१३ अन्तर्गत शान्तिचोकदेखि माथिल्लो वन क्षेत्रसम्म करिब तीन किलोमिटर दूरीमा सरसफाइ गर्दा झन्डै ५० क्विन्टलभन्दा बढी फोहोर संकलन भएको थियो।

तीन किलोमिटरकै दायरामा यति ठूलो परिमाणमा प्लास्टिक, चाउचाउका खोल, पानी र मदिराका बोतल तथा कागजजन्य फोहोर भेटिनुले समस्या कति भयावह छ भन्ने देखाउँछ।

पर्यटकीय आकर्षणसँगै बढ्दो वातावरणीय जोखिम
नुवाकोट क्षेत्रमा पछिल्ला वर्षमा पर्यटकको चहलपहल तीव्र रूपमा बढेको छ।

केबलकार सञ्चालन र सडक पूर्वाधारको विस्तारसँगै बुटवल र पाल्पाका व्यवसायीले यहाँ होटल, रेस्टुराँ तथा मनोरञ्जनका क्षेत्रमा लगानी बढाएका छन्। हाल नुवाकोटमा मात्रै साना-ठूला गरी ३० भन्दा बढी रेस्टुराँ सञ्चालनमा छन्।

पर्यटनले स्थानीय अर्थतन्त्र चलायमान बनाउनु र रोजगारी तथा आम्दानीको अवसर सिर्जना गर्नु सकारात्मक पक्ष हो। तर, पर्यटकीय गतिविधिसँगै उत्सर्जन हुने फोहोर व्यवस्थापन गर्न नसकिए प्राकृतिक सम्पदामाथि उल्टै भार पर्ने वातावरणविद्हरू बताउँछन्।

विशेषगरी वन क्षेत्रभित्र जथाभावी फालिने प्लास्टिक लामो समयसम्म नगल्ने भएकाले यसले माटोको प्राकृतिक गुणमा गम्भीर असर पार्छ।

वातावरण अध्येता युवराज कँडेलका अनुसार जङ्गलमा फालिएका प्लास्टिकका टुक्रा सड्दै जाँदा ‘माइक्रोप्लास्टिक’ बन्ने र माटो तथा पानीमा मिसिने जोखिम रहन्छ। वर्षाको पानीसँगै यस्ता बोतल र खाद्य प्याकेजिङका खोल खोल्सा हुँदै तल्लो भूभागतर्फ बगेर पुग्ने खतरा रहेको उनले बताए।

कमजोर चुरेमा मानवीय गतिविधिको थप दबाब
चुरे क्षेत्र प्राकृतिक रूपमै अत्यन्त संवेदनशील भूभाग हो। यहाँका अधिकांश चट्टान खँदिलो नभई खुकुलो र पत्रे संरचनाका भएकाले सामान्य भूक्षयदेखि पहिरो र भू-स्खलनसम्मको जोखिम उच्च हुन्छ।

राष्ट्रपतिको कार्यालयले प्रकाशित गरेको चुरे संरक्षणसम्बन्धी विवरण अनुसार चुरे क्षेत्र नेपालको कुल भूभागको १२.७८ प्रतिशत क्षेत्रमा फैलिएको छ।

पूर्वी इलामदेखि पश्चिम कञ्चनपुरसम्मका ३७ जिल्लामा फैलिएको यो क्षेत्र तराईका लागि भूमिगत जल पुनर्भरण, जैविक विविधता संरक्षण र वातावरणीय सन्तुलनका दृष्टिले मेरुदण्ड मानिन्छ।

चुरेमा हुने वन विनाश, भूक्षय, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन र अव्यवस्थित पूर्वाधार निर्माणले तल्लो तटीय क्षेत्रको पानी, कृषि र बस्तीलाई समेत प्रत्यक्ष प्रभावित पार्छ।

वातावरण अध्येता कँडेल भन्छन्, “बुटवल आसपासको चुरे क्षेत्र कमजोर र पत्रे चट्टानले बनेको छ। यस्तो भूभागमा भौगर्भिक संवेदनशीलतालाई बेवास्ता गरी गरिने जथाभावी पूर्वाधार निर्माण र मानवीय अतिक्रमणले भू-स्खलनको जोखिम झनै बढाउँछ।”

कानुन छ, तर कार्यान्वयन शून्य : संरक्षणको जिम्मेवारी कसको?
फोहोरमैला व्यवस्थापन ऐन, २०६८ ले फोहोर संकलन, प्रशोधन तथा विसर्जनका लागि आवश्यक पूर्वाधार निर्माण र सञ्चालन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ।

ऐनको दफा २० ले प्रदूषणरहित व्यवस्थापन र दफा २१ ले नियमित अनुगमनको दायित्व पनि स्थानीय तहकै काँधमा राखेको छ।

यसैगरी, बुटवल उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन, २०७८ र नियमावली, २०७६ ले पनि नगर क्षेत्रमा फोहोर व्यवस्थापनका लागि स्पष्ट कानुनी आधार तय गरेका छन्।

अझ, फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ र ३९ अनुसार तोकिएको स्थानबाहेक अन्यत्र फोहोर फाल्ने व्यक्तिलाई पहिलो पटक पाँच हजार रुपैयाँसम्म, दोस्रो पटक पाँच हजारदेखि १० हजार रुपैयाँसम्म र तेस्रो वा सोभन्दा बढी पटक प्रत्येक पटक १५ हजार रुपैयाँ जरिवाना गर्न तथा फोहोर उठाउँदा लागेको खर्चसमेत असुल गर्न सकिने व्यवस्था छ।

यद्यपि, कानुन हुनु र त्यसको प्रभावकारी कार्यान्वयन हुनु नितान्त फरक विषय बनेको छ।

नुवाकोट जाने सडक, दृश्यावलोकन स्थल र वन क्षेत्रका संवेदनशील स्थानमा फोहोर फाल्न निषेध गरिएको सूचना बोर्ड राख्ने, नियमित अनुगमन गर्ने, फोहोर फाल्नेको पहिचान गरी जरिवाना तिराउने काम अहिलेसम्म हुन सकेको छैन।

यता, बुटवल उपमहानगरपालिकाले भने पछिल्लो समय फोहोर वर्गीकरण तथा व्यवस्थापनका लागि घरदैलो अभियान सञ्चालन गरेको जनाएको छ।

नगरप्रमुख खेलराज पाण्डेयले फोहोर व्यवस्थापनलाई दिगो बनाउन कुहिने, नकुहिने र पुनःप्रयोग गर्न सकिने फोहोर छुट्याउने अभियान अघि बढाइएको बताए।

“चुरे क्षेत्रको फोहोरप्रति हामी चिन्तित छौँ,” पाण्डेयले भने, “बेलाबेलामा वन समूह र उपभोक्ताहरूसँग मिलेर सरसफाइ अभियान पनि गरेका छौँ, तर अझ धेरै काम गर्नुपर्ने अवस्था छ।”

कात्तिक ३०, २०८३ सोमबार ११:२२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।