उदाउँदो सूर्यको आराधनासँगै छठ सम्पन्न, घरघरमा प्रसाद र ‘भार’को रौनक
महोत्तरी : उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै लोकआस्थाको महापर्व छठ आज सम्पन्न भएको छ।
महोत्तरीसहित तराई-मधेशका छठी घाटहरूमा बिहान सूर्योदय हुनासाथ बर्तालुले सूर्यदेवलाई अर्घ्य दिएका हुन्।
सप्तमीका दिन बिहानको यो विधिसँगै गत शनिबार पञ्चमीको मध्यरातपूर्वदेखि सुरु भएको बर्तालुको कठोर निराहार व्रतले पूर्णता पाएको छ।
यसअघि बर्तालुले निराहार व्रतकै बीच आइतबार साँझ षष्ठी तिथिमा अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य दिएका थिए।
मिथिलाञ्चलमा षष्ठीको साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने विधिलाई ‘सझियाघाट’ वा ‘सझुका अरख’ भनिन्छ भने सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व समापन गर्ने विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भन्ने चलन छ।
कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म चार दिन विविध विधिसहित यो पर्व मनाइन्छ। पर्वको पहिलो दिन चौथीमा पवित्र स्नान गरी चोखोनितो खाएर व्रत सङ्कल्प गर्ने ‘नहाय-खाय’ विधि गरिएको थियो।
त्यस्तै, दोस्रो दिन पञ्चमीको राति एक छाक मात्र अलिनो खाएर ‘खरना’ विधि सम्पन्न गरेपछि बर्तालुले निराहार व्रत थालेका थिए।
सूर्योपासनाको अन्तिम विधि पूरा गरी छठी घाटबाट घर फर्किएसँगै बर्तालुले दीनदुःखी र आशामुखीहरूलाई अन्न तथा वस्त्र दान गरी प्रसाद ग्रहण गरेका छन्। यससँगै घरघरमा छठको प्रसाद खाने–खुवाउने क्रम सुरु भएको छ।
सूर्यदेवलाई चढाइएका ठेकुवा, भुसुवासहितका मिष्टान्न परिकार, केरा, अन्य फलफूल तथा माटोको भाँडामा जमाइएको दही प्रसादका रूपमा ग्रहण गरिन्छ।
मिथिला समाजमा छठको प्रसाद महिना दिनसम्म खाने-खुवाउने चलन छ। विशेषगरी छोरीचेली, फुपू, मित र अन्य इष्टमित्रकहाँ छठको प्रसादको ‘भार’ (सोली) पठाउने मौलिक मैथिल परम्परा रहिआएको छ।
छठ व्रत र सूर्यको उपासनाले जीवनमा सुख-सन्तोष प्राप्त हुने तथा रोगव्याधि नलाग्ने जनविश्वास छ।
कात्तिक ३०, २०८३ सोमबार ०७:२७:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।