विश्व विजेता स्पेनविरुद्ध इङ्ल्यान्डको कडा परीक्षा, टुचेलको रणनीति सुध्रिएला?
एजेन्सी : विश्वकप सेमिफाइनलमा अर्जेन्टिनासँग बेहोरेको हारपछि मुख्य प्रशिक्षक थोमस टुचेल र इङ्ल्यान्डको टोलीले कति पाठ सिकेको छ भन्ने वास्तविक परीक्षा आइतबार राति विश्व विजेता स्पेनविरुद्धको खेलमा हुँदैछ।
नेशन्स लिगअन्तर्गत म्याड्रिडस्थित मेट्रोपोलिटानो रंगशालामा हुने खेलमा इङ्ल्यान्डले विश्व फुटबलकै सबैभन्दा कठिन चुनौतीको सामना गर्दैछ।
लुइस डे ला फुएन्टेको प्रशिक्षणमा रहेको स्पेन पछिल्ला ४३ खेलमा अपराजित छ।
सन् २०२४ को मार्चमा कोलम्बियासँग पराजित भएयता स्पेनले ३४ खेल जितेको छ भने ९ खेल बराबरी खेलेको छ। यही अवधिमा युरो २०२४ जितेको स्पेनले यसै वर्ष अर्जेन्टिनालाई हराउँदै विश्वकपको उपाधिसमेत उचालेको थियो। घरेलु मैदानमा पनि स्पेन पछिल्ला २० खेलदेखि अपराजित छ।
अर्कोतर्फ, गत सेप्टेम्बरमा वेम्बलीमा स्पेनसँग ३-२ ले पराजित भएयता इङ्ल्यान्डले लगातार चार खेल जितेको छ, जसमा बिहीबार क्रोएसियाविरुद्धको २-१ को जित पनि सामेल छ।
विश्वकप सेमिफाइनलमा रक्षात्मक रणनीतिका कारण आलोचित बनेका प्रशिक्षक टुचेलले अहिले तुलनात्मक रूपमा सकारात्मक र खुला शैली अपनाएको बताइएको छ।
स्पेनविरुद्धको खेलमा प्रशिक्षक टुचेलले जोर्डन पिकफोर्डको सट्टा लिड्स युनाइटेडका गोलकिपर जेम्स ट्राफोर्डलाई पुनः मौका दिने जानकारी दिएका छन्।
इङ्ल्यान्डका कप्तान तथा बालोन डी’ओर विजेता ह्यारी केनले यो खेललाई ‘आफूलाई प्रमाणित गर्ने उत्तम अवसर’ का रूपमा लिएका छन्।
त्यस्तै, प्रशिक्षक टुचेल र मिडफिल्डर डेक्लान राइसले पनि विश्व विजेतासँग उसैको मैदानमा हुने भिडन्तले इङ्ल्यान्डको वास्तविक स्तर देखाउने बताएका छन्।
कात्तिक २९, २०८३ आइतबार १३:५९:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।