अनुमतिबिना एन्ड्रोइड प्रयोगकर्ताको ग्यालरीमा पहुँच, मेटामाथि करिब १ खर्ब ३४ अर्ब रुपैयाँ जरिवाना

अनुमतिबिना एन्ड्रोइड प्रयोगकर्ताको ग्यालरीमा पहुँच, मेटामाथि करिब १ खर्ब ३४ अर्ब रुपैयाँ जरिवाना

एजेन्सी :  सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी मेटामाथि इटालीले ८० करोड ५० लाख युरो (करिब १ खर्ब ३४ अर्ब नेपाली रुपैयाँ) जरिवाना तोकेको छ।

एन्ड्रोइड प्रयोगकर्ताको फोनमा रहेका व्यक्तिगत तस्बिर तथा भिडियोहरूमा स्पष्ट सहमतिबिना पहुँच बनाएको ठहर गर्दै इटालीको डेटा संरक्षण नियामक निकायले यो भारी जरिवाना लगाएको हो।

इटालीको डेटा प्रोटेक्सन अथोरिटीका अनुसार फेसबुकको एन्ड्रोइड एपमा रहेको एउटा विशेष फिचरमार्फत मेटाले प्रयोगकर्ताका तस्बिर, भिडियो र त्यससँग सम्बन्धित विवरण हेर्न सक्ने अवस्था थियो।

सन् २०२३ देखि उपलब्ध रहेको उक्त फिचरको मद्दतले फेसबुकले प्रयोगकर्ताको फोन ग्यालरीमा रहेका तस्बिर र भिडियोका आधारमा फेसबुकमा पोस्ट गर्न सुझाव दिने गर्थ्यो।

के थियो मेटाको गल्ती ?
नियामक निकायका अनुसार मेटाले इटालीका करिब २ करोड एन्ड्रोइड प्रयोगकर्तालाई यसबारे सही र स्पष्ट जानकारी दिएको थिएन।

फेसबुकले एपमार्फत प्रयोगकर्तासँग एकैपटक पूरै फोटो ग्यालरीमा पहुँच पाउने अनुमति माग्ने गरेको थियो। तर, त्यही अनुमतिबाट फेसबुकले प्रयोगकर्ताका व्यक्तिगत तस्बिर र भिडियोको आधारमा पोस्टको सुझावसमेत तयार पार्छ भन्ने कुरा स्पष्ट रूपमा खुलाइएको थिएन।

उक्त फिचर प्रयोगकर्ताको फोनमा स्वतः चालू (डिफल्ट अन) रहने गरेको समेत छानबिनमा भेटिएको छ।

अनुसन्धानका क्रममा मेटाले पर्याप्त सहयोग नगरेको र यसअघि सन् २०१९ मा पनि यस्तै कारबाहीमा परेको तथ्यलाई आधार मान्दै इटालीको नियामकले प्रविधि कम्पनीमाथिको अहिलेसम्मकै ठूलोमध्येको एक जरिवाना सुनाएको हो।

६० दिनभित्र फिचर सुधार्न अल्टिमेटम
इटालीको नियामकले मेटालाई ६० दिनको समयसीमा दिँदै उक्त फिचर स्वतः चालू हुने व्यवस्था तत्काल बन्द गर्न र ग्यालरी प्रयोगका लागि प्रयोगकर्तासँग छुट्टै तथा स्पष्ट अनुमति लिन आदेश दिएको छ।

यस घटनाबाट ठूलो सङ्ख्यामा मानिस प्रभावित भएको उल्लेख गर्दै नियामकले भनेको छ, “जसले एप अपडेट गरेका छैनन् वा पहिले नै यो प्रणालीलाई अनुमति दिइसकेका छन्, उनीहरूका लागि यो समस्या अझै कायमै छ।”

यता मेटाले भने नियामकको निर्णय र जरिवानाको परिमाणप्रति कडा असहमति जनाउँदै उक्त फैसलाविरुद्ध अपिल गर्ने बताएको छ ।
 

कात्तिक २९, २०८३ आइतबार ०९:०२:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।