शेख हसिनाको स्वदेश फिर्तीका लागि भारतले राख्यो दुई सर्त

शेख हसिनाको स्वदेश फिर्तीका लागि भारतले राख्यो दुई सर्त

एजेन्सी : बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना भारतमा आश्रय लिएको दुई वर्षभन्दा बढी समय बितेपछि, भारतले उनलाई स्वदेश (ढाका) फर्काउने तयारी गरेको छ। यद्यपि, भारतले तारिक रहमान नेतृत्वको बंगलादेश सरकारसमक्ष हसिनाको फिर्तीका लागि दुईवटा मुख्य सर्तहरू अगाडि सारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बिबिसी बंगलाको रिपोर्टलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले प्रकाशित गरेको समाचार अनुसार भारतले हसिनालाई नयाँदिल्लीबाट ढाका लैजान बंगलादेशलाई सैन्य विमान पठाउन आग्रह गरेको छ। भारतको प्रस्तावअनुसार हसिनालाई स्वदेश फर्काउने जिम्मेवारी बंगलादेशी सेनाले लिनुपर्नेछ। सम्भव भएसम्म उनलाई सैन्य विमानमार्फत नै फर्काउनुपर्ने भारतको पहिलो सर्त रहेको छ।

भारतको दोस्रो सर्त भने हसिनाको न्यायिक प्रक्रियासँग सम्बन्धित छ। बंगलादेशी अदालतले सन् २०२४ को जुलाईमा भएको आन्दोलनका क्रममा प्रदर्शनकारीमाथि भएको दमनमा संलग्न रहेको अभियोगमा हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ। भारतले उक्त सजायविरुद्ध पुनरावेदन गर्न पाउने अवसर र नयाँ निष्पक्ष सुनुवाइको सुनिश्चितता हुनुपर्ने सर्त राखेको रिपोर्टमा उल्लेख छ।

सन् २०२४ अगस्ट ५ मा विद्यार्थी नेतृत्वको आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री हसिनाले पदबाट राजीनामा दिँदै बंगलादेश छाडेकी थिइन्। त्यसयता उनी भारतमा बस्दै आएकी छन्।हसिनाको भारत बसाइ पछिल्लो समय नयाँदिल्लीका लागि असहज विषय बन्दै गएको रिपोर्टमा उल्लेख छ। उनलाई भारतले शरण दिएको विषयले बंगलादेशसँगको द्विपक्षीय सम्बन्धमा असर पारेको र अन्तर्राष्ट्रिय स्तरमा समेत आलोचना खेप्नुपरेको बताइएको छ।

भारतले यसअघि हसिनालाई तेस्रो मुलुक पठाउने विकल्पसमेत खोजेको थियो। तर, विभिन्न मुलुकसँग गरिएको प्रयास सफल हुन नसकेको बीबीसी बंगलाको रिपोर्टमा उल्लेख छ। त्यसपछि भारतले उनलाई बंगलादेश नै फर्काउने सम्भावनाबारे काम गरिरहेको बताइएको छ।

पछिल्लो समय हसिना आफैंले डिसेम्बर महिनामा बंगलादेश फर्किने योजना रहेको बताएकी छिन् भने उनीमाथि गिरफ्तारी र ज्यानको जोखिम कायमै रहेको छ।

कात्तिक २८, २०८३ शनिबार १५:५०:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।