चीनको सेन्जेनमा ट्रम्प, पुटिन र सीबीच पहिलो त्रिपक्षीय वार्ता तय, के छन् मुख्य एजेन्डा ?

चीनको सेन्जेनमा ट्रम्प, पुटिन र सीबीच पहिलो त्रिपक्षीय वार्ता तय, के छन् मुख्य एजेन्डा ?

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच अर्को साता चीनको सेन्जेनमा पहिलो त्रिपक्षीय भेटवार्ता हुने भएको छ। ह्वाइट हाउसले शुक्रबार यसबारे जानकारी गराएको हो।

एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा बिहीबार तीनै नेताबीच भेटवार्ता हुने ह्वाइट हाउसको प्रवक्ता ओलिभिया वेल्सले बताइन्। 

उक्त भेटवार्तामा राष्ट्रपति ट्रम्पले विश्वभर आणविक हतियारको संख्या घटाउने विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरिरहेका छन्। यसका साथै इरानसँग जारी युद्धबारे पनि छलफल हुन सक्ने अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन्।

यद्यपि, रुस र युक्रेनबीच जारी युद्धको विषय भने उक्त बैठकमा समावेश हुने सम्भावना नरहेको बताइएको छ। अमेरिकी अधिकारीका अनुसार युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका, रुस र युक्रेनबीच छुट्टै कूटनीतिक वार्ता भइरहेको छ। त्यसैले उक्त विषयमा चीनसँग त्रिपक्षीय छलफल गर्नु उपयुक्त नहुने अमेरिकी पक्षको भनाइ छ।

यस भेटवार्तालाई सन् १९४५ मा भएको याल्टा सम्मेलनसँग पनि तुलना गरिएको छ। उक्त सम्मेलनमा अमेरिका, बेलायत र सोभियत संघका नेताहरूले दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्थाबारे छलफल गरेका थिए। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि सेन्जेनमा हुने बैठकले विश्वका शक्तिशाली राष्ट्रबीच प्रभाव क्षेत्र बाँडफाँट गर्ने अवस्था सिर्जना हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

यसैबीच, राष्ट्रपति ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सीसँग छुट्टै द्विपक्षीय भेटवार्ता र कार्यकारी दिवाभोज गर्ने कार्यक्रमसमेत रहेको छ। तर, रुसी राष्ट्रपति पुटिनसँग छुट्टै भेटवार्ताको कार्यक्रम भने तय भएको छैन।

कात्तिक २८, २०८३ शनिबार १५:५१:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।