उत्तरी नाइजेरियामा आपराधिक समूह र स्थानीय सुरक्षा दस्ताबीच झडप, ५० भन्दा बढीको मृत्यु

उत्तरी नाइजेरियामा आपराधिक समूह र स्थानीय सुरक्षा दस्ताबीच झडप, ५० भन्दा बढीको मृत्यु

एजेन्सी : नाइजेरियाको उत्तरपश्चिमी राज्य जामफारामा आपराधिक समूह र स्थानीय सुरक्षा दस्ताबीच भएको झडपमा ५० जनाभन्दा बढीको मृत्यु भएको छ।

स्थानीय बासिन्दाहरूले शनिबार एएफपीलाई दिएको जानकारीअनुसार मृत्यु हुनेमा ४४ जना सशस्त्र समूहका सदस्य र नौ जना स्थानीय सुरक्षा दस्ताका सदस्य रहेका छन्।

स्थानीय स्रोतहरूका अनुसार, छिमेकी गुम्मी जिल्लाबाट केही व्यक्तिलाई अपहरण गरी गाउँ हुँदै गइरहेका डाँकाहरूलाई बुक्कुयुम जिल्लाको जोमा गाउँका स्थानीय सुरक्षा दस्ताले बिहीबार बाटो ढुकेर आक्रमण गरेका थिए।

गाउँका एक प्रमुखले आफ्नो परिचय गोप्य राख्ने सर्तमा भने, “हाम्रा सुरक्षा दस्ताले ४४ जना डाँकाहरूलाई मारेका छन्। यस भिडन्तमा हाम्रा नौ जना सुरक्षा दस्ताका सदस्यले पनि ज्यान गुमाएका छन्।”

व्यक्तिगत सुरक्षाको कारण देखाउँदै ती प्रमुखले आफ्नो नाम सार्वजनिक गर्न चाहेनन्। अन्य दुई स्थानीय बासिन्दाले पनि घटनाको पुष्टि गर्दै झडपमा मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको बताएका छन्।

कात्तिक २८, २०८३ शनिबार १८:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।