कांग्रेसलाई कसैले आफ्नो स्वार्थअनुसार नियन्त्रण गर्न सक्दैन : देउवा
ललितपुर : नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले जनताको त्याग र बलिदानबाट स्थापित भएको कांग्रेसलाई कसैले आफ्नो स्वार्थअनुसार नियन्त्रण गर्न नसक्ने बताएका छन्।
ललितपुरको महालक्ष्मीस्थानमा शनिबार कांग्रेसको देउवा समूहको १५औँ नियमित जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले पार्टीको इतिहास र विरासतको सम्मान गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।
पार्टीभित्रका विवाद तथा विशेष महाधिवेशनसम्बन्धी विषय विधि, विधान र न्यायिक प्रक्रियाबाट समाधान गर्नुपर्ने उनको भनाइ थियो। देउवाले सर्वोच्च अदालतबाट आफूहरूले निष्पक्ष न्याय पाउने विश्वास व्यक्त गरे।
"सर्वोच्च अदालत कुनै आर्थिक प्रलोभनमा बिक्ने संस्था होइन। अदालतले निष्पक्ष र स्वतन्त्र रूपमा न्याय दिनेछ भन्ने दृढ विश्वास छ। राजाको प्रत्यक्ष शासनका बेला समेत सर्वोच्च अदालतले साहसपूर्वक न्याय दिएको इतिहास छ," उनले भने, "त्यसैले अहिले पनि अदालतले निष्पक्ष न्याय गर्नेछ भन्नेमा म विश्वस्त छु। हामीले न्याय पाउनेछौँ र अन्याय हुनेछैन भन्ने विश्वास लिएको छु।"
देउवाले व्यक्तिगत पद र प्रतिष्ठाभन्दा देश, जनता र पार्टीप्रतिको जिम्मेवारी ठूलो भएको बताए। आफूलाई अब कुनै पदको अपेक्षा नरहेको र पार्टी तथा देशका लागि निरन्तर योगदान गर्ने उनले बताए।
"पाँच पटक प्रधानमन्त्री भइसकेँ, मलाई अब केही हुनु छैन," देउवाले भने, "जुन पार्टीले मलाई पाँच पटक प्राइममिनिस्टर बनायो त्यो पार्टीका लागि ज्यान दिन पनि तयार हुनुपर्छ।"
कात्तिक २८, २०८३ शनिबार १९:०१:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।