असलङ्काको अर्धशतकसहित विराटनगरको विस्फोटक ब्याटिङ, अन्तिम ५ ओभरमा बन्यो ६४ रन

असलङ्काको अर्धशतकसहित विराटनगरको विस्फोटक ब्याटिङ, अन्तिम ५ ओभरमा बन्यो ६४ रन

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत प्लेअफ आशा जीवित राख्न जित्नै पर्ने खेलमा विराटनगर किङ्सले लुम्बिनी लायन्ससामु १६७ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनायो।

पछिल्ला खेलहरूमा कीर्तिपुरको पिचमा रन बन्न नसकिरहेका बेला विराटनगरले अन्तिम पाँच ओभरमा आक्रामक ब्याटिङ गर्दै ६४ रन जोडेको हो।

विराटनगरको इनिङ्समा श्रीलङ्काली ब्याटर चरिथ असलङ्का ले सानदार अर्धशतकीय पारी खेले। ३९ बलमा अर्धशतक पूरा गरेका असलङ्काले कुल ४३ बलको सामना गर्दै ६ छक्का र १ चौकाको मद्दतमा सर्वाधिक ६४ रन जोडे। १७.६ ओभरमा रुबेन ट्रम्पेलम्यानको बलमा डेब्युटेन्ट अलि शेखबाट समातिनुअघि उनले टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए।

त्यस्तै, एन्जेलो म्याथ्युजको स्थानमा प्लेइङ-११ मा मौका पाएका शुभम रन्जने ले २४ बलमा ४ चौकासहित अविजित ३१ रन को उपयोगी योगदान दिए। ओपनर इमरान शेख २९ बलमा १ छक्कासहित २४ रन बनाएर चोटका कारण ‘रिटायर्ड हर्ट’ भई मैदान बाहिरिएपछि असलङ्का र रन्जनेले इनिङ्स सम्हालेका थिए।

सुरुवाती पावरप्लेमा ३८ रन जोड्दा १ विकेट गुमाएको विराटनगरका ओपनर एवं लिगका सर्वाधिक रनकर्ता लोकेश बम १५ रन (१७ बल) मा आउट भए।

तल्लो क्रममा इसुरु उडानाले ३ बलमा १ छक्कासहित ६ रन, बसीर अहमदले २ बलमा १ चौकासहित अविजित ६ रन र सेहान जयसूर्याले १ रन बनाए। लुम्बिनीले १० वाइड र ९ लेग बाई गरी कुल १९ अतिरिक्त रन खर्चिएको थियो।

सुरुवातमा सुस्त देखिएको विराटनगरले १० ओभरमा ७०/१ र १५ ओभरमा १०२/१ को स्थितिबाट अन्तिम ५ ओभरमा ३ विकेट गुमाउँदै ६४ रन (१२.८० को रनरेट) बटुलेको थियो।

बलिङतर्फ लुम्बिनी लायन्सका किशोर महतो ले सर्वाधिक २ विकेट लिए। उनले ४ ओभरमा मात्र २४ रन खर्चिए। त्यस्तै, अभिषेश गौतमले ३ ओभरमा १५ रन खर्चेर १ विकेट लिए भने शेर मल्लले ४ ओभरमा २२ रन मात्र दिएर किफायती बलिङ गरे।

तर, लुम्बिनीका प्रमुख बलर रुबेन ट्रम्पेलम्यान आज निकै महँगा साबित भए। उनले ४ ओभरमा ५ वाइडसहित ५२ रन खर्चेर १ विकेट मात्र हात पारे। डेब्यु खेल खेलिरहेका अलि शेखले २ ओभरमा २० रन खर्चिँदा कप्तान रोहित पौडेलले २ ओभरमा १५ र डी’आर्सी सर्टले १ ओभरमा ९ रन दिए।

प्लेअफमा स्थान पक्का गरिसकेको लुम्बिनी आज विजयी भएमा ११ अङ्कसहित शीर्ष स्थानमा उक्लिनेछ भने विराटनगर प्लेअफ दौड कायम राख्न १६६ रनको यो योगफल जोगाउने लक्ष्यसहित बलिङमा उत्रनेछ।

कात्तिक २८, २०८३ शनिबार १८:४६:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।