पार्टीको सदस्यता लिएर अन्य दललाई मतदान गर्नेलाई कारवाही गर्ने अध्यक्ष ओलीको चेतावनी

पार्टीको सदस्यता लिएर अन्य दललाई मतदान गर्नेलाई कारवाही गर्ने अध्यक्ष ओलीको चेतावनी

काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा रहेर अन्य दलका उम्मेदवारलाई मत दिएको प्रमाण भेटिए त्यस्ता सदस्यलाई कारवाही गरिने बताएका छन्। 

एमालेको बागमती प्रदेश सङ्गठन कमिटीको तेस्रो पूर्ण बैठकलाई आज च्यासलमा सम्बोधन गर्दै उनले पार्टीको सदस्यता लिएर अन्य दलका उम्मेदवारलाई मतदान गर्ने जोसुकैलाई कारवाही गरिने बताए।

अध्यक्ष ओलीले पार्टीमा रहेर अन्य दललाई भोट हालेको पाइएमा भएको पाइएमा स्पष्टीकरण सोध्ने, छानबिन गर्ने र दोषी देखिए कारवाही गर्ने बताए।

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन नजिकिएकाले पार्टीभित्रका अन्तरविरोध आपसी छलफलबाट समाधान गरी एकताबद्ध भएर निर्वाचनमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिए। उनले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई सक्रिय हुन आग्रह गर्दै पार्टीमा रहेर बेइमानी गर्ने छुट कसैलाई नभएको बताए। 

उनले एमालेमाथि भित्री र बाहिरी शक्तिबाट चौतर्फी संयुक्त आक्रमण भएको आरोप समेच लगाए। 

उनले भने, "हामीमाथिको हमलाको एउटा कुरा ओझेलमा पर्ने गरेको छ। हामी किन धक्का खायौँ भन्दा हामीमाथि भित्री, बाहिरी चौतर्फी संयुक्त आक्रमण भएको थियो। हाम्रा विरोधीहरूले अत्यन्तै निर्णायक ढंगले हामीमाथि हमला गरे। हामीलाई एक्लै पारेर नै हमला गरे।"

एमालेका सचिव एवं बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतले बैठकमा आगामी स्थानीय तहको निर्वाचनको तयारी तथा मङ्सिर २ र ३ गते काठमाडौंमा आयोजना हुने भेलाको तयारीबारे छलफल हुने जानकारी दिए। बैठक आइतबारसम्म सञ्चालन हुनेछ।

कात्तिक २८, २०८३ शनिबार १८:३४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।