जनताको आशामाथि तुषारापात हुन दिँदैनौँ, परिणाममुखी काम गर्छौँ : रवि लामिछाने
जनकपुरधाम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताले पार्टीप्रति देखाएको आशा, विश्वास र भरोसामाथि तुषारापात हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
छठ पर्वका अवसरमा जनकपुरधाममा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब जनताका माझमा केवल आश्वासन र वाचापत्र बोकेर मात्र नभई ठोस परिणामसहित जाने स्पष्ट पारे।
जनताले पार्टीलाई दिएको अपार विश्वासलाई खेरजान नदिने उल्लेख गर्दै सभापति लामिछानेले जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “हामी जे बोल्छौँ, त्यही गर्छौं र जे गर्छौं, त्यही बोल्छौँ।”
साथै, पार्टीको विधि, विधान र प्रक्रियाविपरीत टिकट वितरणका नाममा आर्थिक लेनदेन गर्ने जोकोहीलाई कडा कारबाही गरिने उनले चेतावनीसमेत दिए। गरिब तथा विपन्न बस्तीहरूमा टिकट बाँड्नेभन्दा पनि शिक्षा, स्वास्थ्य र रोजगारी पुर्याउने उद्देश्य रास्वपाको रहेको स्पष्ट पार्दै उनले यो ऐतिहासिक अवसर कुनै व्यक्तिलाई खुसी पार्न नभई जनताको अनुहारमा मुस्कान ल्याउन आएको जिकिर गरे।
“यो ऐतिहासिक अवसर कुनै व्यक्तिलाई खुसी पार्न आएको होइन, जनताको अनुहारमा मुस्कान ल्याउन आएको हो”, उनले भने।
सभापति लामिछानेले आफ्नो वा अरू जुनसुकै दलको सरकार भए पनि जनताको हितमा हुने सही कामको समर्थन र गलत कामको विरोध गर्ने नीति पार्टीले लिने बताउँदै यसलाई आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा व्याख्या गरे।
उनले सरकारले जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्न तल्लीन रहेको उल्लेख गर्दै जनताको अपेक्षाअनुसार परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा पार्टीका नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। रास्वपा सभापति लामिछाने दम्पती छठ पर्व मनाउन आज जनकपुरधाम आइपुगेका हुन्।
कात्तिक २८, २०८३ शनिबार १७:३०:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।