एनपीएलमा आज एक मात्र खेल : विराटनगरलाई ‘गर या मर’, शीर्ष स्थान ताक्दै लुम्बिनी
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)सिजन-३ अन्तर्गत आज एक मात्र खेल हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज विराटनगर किङ्स र साविक विजेता लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुन लागेको हो। खेल साँझ ५:०० बजे सुरु हुनेछ।
लिग चरणको अन्तिम खेलका रूपमा रहेको आजको प्रतिस्पर्धा दुवै टोलीका लागि अङ्कतालिका र प्लेअफ समीकरणका दृष्टिले निकै महत्त्वपूर्ण छ।
६ खेलमा ४ जित, १ हार र १ अङ्क बाँडेको लुम्बिनी लायन्स ९ अङ्कसहित (+१.४२१ नेट रनरेट) तालिकाको दोस्रो स्थानमा छ र प्लेअफमा स्थान पक्का गरिसकेको छ।
हाल ७ खेलबाट १० अङ्क जोडेको सुदूरपश्चिम रोयल्स शीर्ष स्थानमा छ । आजको खेल जितेमा लुम्बिनी ११ अङ्कसहित पुनः शीर्ष स्थानमा उक्लिनेछ र क्वालिफायर-१ खेल्ने लगभग पक्का गर्नेछ।
यता, समान ६ खेलबाट ३ जित र ३ हारसहित ६ अङ्क जोडेको विराटनगर किङ्स (-०.५२४ नेट रनरेट) तालिकाको पाँचौँ स्थानमा छ।
प्लेअफको आशा जीवित राख्न विराटनगरका लागि आजको खेल ‘गर या मर’ सरह छ। आज जित निकाल्न सके विराटनगर ८ अङ्कमा पुग्नेछ र काठमाडौँ गोर्खाज (८ अङ्क) तथा चितवन राइनोज (७ अङ्क) सँगको प्रतिस्पर्धामा कायमै रहनेछ।
तर, आज पराजित भएमा विराटनगर लिग चरणबाटै बाहिरिनेछ।
दुवै टोली आ–आफ्नो अघिल्लो खेल जितेर उच्च मनोबलका साथ मैदान उत्रँदै छन्। बिहीबार लुम्बिनीले कर्णाली याक्सलाई १०५ रनमा समेट्दै ४ विकेटको जित हात पारेको थियो भने विराटनगरले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको थियो।
एनपीएल इतिहासमा यसअघि भएका तीन भेटमा लुम्बिनी २–१ ले अगाडि छ। पहिलो सिजनमा विराटनगरले २ विकेटको जित निकाले पनि गत सिजनको लिग चरण र क्वालिफायर–२ दुवैमा लुम्बिनीले विराटनगरलाई पराजित गरेको थियो।
हाल कीर्तिपुरको पिच बलरमैत्री र कम स्कोर बन्ने खालको देखिएकाले पावरप्लेमा विकेट जोगाएर मध्य ओभरमा साझेदारी निर्माण गर्ने टोली आजको खेलमा हावी हुने अनुमान गरिएको छ।
कात्तिक २८, २०८३ शनिबार ०९:०७:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।