‘गर या मर’को खेलमा विराटनगरले म्याथ्युजलाई बेन्चमा राख्यो, लुम्बिनीबाट अली शेखको डेब्यु
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेपछि विराटनगर किङ्सले पहिले ब्याटिङ गर्ने भएको हो। खेल साँझ ५ बजे सुरु हुँदैछ।
प्लेअफ समीकरणका दृष्टिले निकै महत्त्वपूर्ण मानिएको आजको खेलमा दुवै टोलीले प्लेइङ-११ मा महत्त्वपूर्ण परिवर्तन गरेका छन्।
प्लेअफको आशा जीवित राख्न आज जित्नै पर्ने दबाबमा रहेको विराटनगर किङ्सले अनुभवी श्रीलङ्काली अलराउन्डर एन्जेलो म्याथ्युजलाई बेन्चमा राख्दै शुभम रन्जनेलाई प्लेइङ-११ मा मौका दिएको छ।
यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको लुम्बिनी लायन्सले आज अमेरिकी ब्याटर अलि शेखलाई एनपिएलमा डेब्यु गराएको छ। बङ्गलादेशी खेलाडी शमीम हुसेन आजको खेलबाट बाहिर (बेन्च) रहेका छन्।
दुवै टोलीको प्लेइङ-११
लुम्बिनी लायन्स : रोहितकुमार पौडेल (कप्तान), सन्दीप जोरा, आसिफ शेख, शेर मल्ला, अभिषेश गौतम, दिलीप नाथ, किशोर महतो, रुबेन (क्रिस्चियन) ट्रम्पेलम्यान, निरोशन डिक्वेला (विकेटकिपर), डी’आर्सी सर्ट र अलि शेख।
विराटनगर किङ्स : सन्दीप लामिछाने (कप्तान), लोकेश बम (विकेटकिपर), बसीर अहमद, रुपेश सिंह, अपराजित पौडेल, इमरान शेख, सुजन थपलिया, सेहान जयसूर्या, चरिथ असलङ्का, इसुरु उडाना र शुभम रन्जने।
कात्तिक २८, २०८३ शनिबार १६:४७:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।