बाहिरिँदै गरेका सेफर्टमाथि गुरनुर जाइलाग्दा विराटले नै सम्हाल्नुपरेपछि...

बाहिरिँदै गरेका सेफर्टमाथि गुरनुर जाइलाग्दा विराटले नै सम्हाल्नुपरेपछि...

एजेन्सी : अन्तर्राष्ट्रिय क्रिकेटमा विराट कोहलीको पहिचान आक्रामक र निडर प्रतिस्पर्धीको हो। विपक्षी खेलाडीसँग आँखा जुधाएर स्लेजिङ गर्ने, विकेट झर्दा जोसका साथ गर्जिने र कहिलेकाहीँ मैदानमै भिड्न तम्सिने कोहली शुक्रबार भने बिल्कुलै फरक भूमिकामा देखिए।

न्युजिल्यान्डविरुद्धको चौथो एकदिवसीय (ओडीआई) खेलमा भारतीय युवा तीव्र गतिका बलर गुरनुर बरार आक्रोशित हुँदै न्युजिल्यान्डका ब्याटर टिम सेफर्ट माथि जाइलाग्न खोजेपछि कोहली नै बीचमा पसेर स्थिति सम्हाल्नुपर्यो।

माउन्ट माउन्गानुईस्थित बे ओभलमा शुक्रबार भएको खेलको १२औं ओभरमा यो घटना घटेको हो, जसको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

मैदानमा के भएको थियो?
यस विवादको बीउ १२औं ओभरभन्दा पाँच ओभरअगाडि नै रोपिएको थियो।

न्युजिल्यान्डले टस हारेर ब्याटिङ गरिरहँदा सातौं ओभरमा ओपनर टिम सेफर्टले गुरनुर बरारको एकै ओभरमा एक छक्का र दुई चौकासहित १४ रन प्रहार गरेका थिए। आक्रामक ब्याटिङ गरिरहेका सेफर्ट र बरारबीच त्यही ओभरमा केही नोकझोक भयाे। महँगो साबित भएपछि भारतीय कप्तान श्रेयस अय्यरले बरारलाई बलिङबाट हटाए।

१२औं ओभरमा बलिङमा फर्किएका बरारले अन्तिम बलमा धारिलो बाउन्सर फाले, जसमा सेफर्ट (४८ बलमा ५८ रन, ६ चौका र ३ छक्का) ले पुल सट खेल्ने प्रयास गर्दा टप-एज लाग्यो र विकेटकिपर इशान किशनले उत्कृष्ट डाइभ लगाउँदै क्याच समाते।

विकेट लिएपछि बलरले खुसी मनाउनु स्वाभाविक भए पनि ६ फिट ५ इन्च अग्ला बरारले सेफर्टतर्फ हेर्दै चर्को स्वरमा गर्जिने मात्र होइन, आउट भएर सामान्य तरिकाले पभेलियन फर्किरहेका सेफर्टकै मुखअगाडि पुगेर बाटो छेक्ने शैलीमा आक्रामक ‘सेन्ड-अफ’ दिए।

बरारको यो व्यवहारबाट असन्तुष्ट बनेका सेफर्ट पनि टक्क अडिएर प्रतिवाद गर्न तम्सिएपछि मैदानको माहोल एकाएक तातियो।

त्यही क्षण ‘इनर रिङ’मा फिल्डिङ गरिरहेका विराट कोहली दौडिँदै आएर बरारको काँधमा हात राख्दै पछाडि तानेर सेफर्टबाट टाढा लगे। स्थिति थप बिग्रिन नपाउँदै अन-फिल्ड अम्पायर क्रिस ब्राउनले पनि तुरुन्तै हस्तक्षेप गरी बरारलाई आक्रामकता सीमाभित्र राख्न चेतावनी दिए।

स्लेजिङको सीमा र आईसीसी कारबाहीको जोखिम
क्रिकेटमा विपक्षीलाई दबाबमा राख्न गरिने सामान्य ‘स्लेजिङ’ खेलको अङ्ग मानिए पनि आउट भएर मैदान छाडिसकेको ब्याटरको नजिकै गएर जिस्क्याउनु वा जाइलाग्नु खेलभावना विपरीत मानिन्छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आचारसंहिताको धारा २.५ अनुसार आउट भएका ब्याटरलाई होच्याउने वा उत्तेजित पार्ने खालको भाषा, व्यवहार वा इसारा गर्नु दण्डनीय अपराध मानिन्छ।

अझ गुरनुर बरारका लागि यो घटना अझै महँगो पर्न सक्थ्यो, किनकि उनको नाममा जुलाई २०२६ मा बर्मिङ्घममा आचारसंहिता उल्लङ्घन गरेबापत एक डिमेरिट अङ्क दर्ता छ।

जारी शृङ्खलाकै पहिलो ओडीआईमा पनि उनले ब्लेयर टिकनरमाथि स्लेजिङ गरेका थिए। बरार शनिबार मात्रै न्युजिल्यान्डविरुद्धको टेस्ट टोलीमा समेत समेटिएका छन्।

भारतीय पूर्वविकेटकिपर दिनेश कार्तिकले क्रिकबज लाइभमा प्रतिक्रिया दिँदै युवा बलरमा जोस र भोक हुनु राम्रो भए पनि आउट भइसकेको ब्याटरको नजिक गएर आक्रामक उत्सव मनाउने बानी सुधार्नुपर्ने सुझाव दिएका छन्।

तर, भारतले भोग्यो २६ वर्षयताकै लज्जास्पद हार
मैदानमा बरारको आक्रामकता त देखियो, तर खेलको नतिजा भारतका लागि बिर्सनलायक रह्यो । विल योङको १२५ र टिम सेफर्टको ५८ रनको मद्दतमा न्युजिल्यान्डले पूरै ५० ओभर खेल्दै ३३३ रन बनायो।

३३४ रनको लक्ष्य पछ्याएको भारत न्युजिल्यान्डका तीव्र गतिका बलर म्याट हेनरी (६/२७) को घातक बलिङसामु धराशायी भयो।

हेनरीले खेलको पहिलो ओभरमै रोहित शर्मा (०), विराट कोहली (०) र कप्तान श्रेयस अय्यर (०) लाई शून्य रनमै आउट पारेपछि भारत २६.४ ओभरमा ८९ रनमै अलआउट भयो र २४४ रनको भारी अन्तरले पराजित भयो।

यो एकदिवसीय क्रिकेटमा २६ वर्षयताकै भारतको सबैभन्दा ठूलो हार हो। पाँच खेलको शृङ्खलामा भारत अझै २-१ ले अगाडि छ।

कात्तिक २८, २०८३ शनिबार ११:२४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।