‘स्यान्डपेपर काण्ड’ आठ वर्षपछि फेरि विस्फोट, वार्नरले बोर्डमाथि नै लगाए गम्भीर आरोप

‘स्यान्डपेपर काण्ड’ आठ वर्षपछि फेरि विस्फोट, वार्नरले बोर्डमाथि नै लगाए गम्भीर आरोप

एजेन्सी : सन् २०१८ को चर्चित ‘स्यान्डपेपर बल-टेम्परिङ’ काण्डले आठ वर्षपछि अस्ट्रेलियन क्रिकेटमा पुनः ठूलो भुइँचालो ल्याएको छ। पूर्वओपनर डेभिड वार्नरले क्रिकेट अस्ट्रेलिया (सीए) माथि उक्त घटनाको छानबिनमा तथ्य ढाकछोप गरेको गम्भीर आरोप लगाएका छन्।

शनिबार दिउँसो इन्स्टाग्राममार्फत आक्रोश पोख्दै वार्नरले सन् २०१८ मा न्युल्यान्ड्स टेस्टको बल-टेम्परिङ छानबिनका क्रममा सीएले तीव्र गतिका बलरद्वय जोश हेजलउड, मिचेल स्टार्क र स्पिनर नाथन लायनसँग सोधपुछ नै नगरेको दाबी गरेका हुन्।

वार्नरले लेखेका छन्, “मलाई थाहा भएसम्म सन् २०१८ को छानबिनमा सीएले जोश हेजलउड, मिचेल स्टार्क वा नाथन लायनको अन्तर्वार्ता लिएको थिएन । यदि यो सही हो भने बलरहरूलाई केही थाहा थिएन भन्ने भाष्य सीएले कसरी अघि सार्न सक्छ?”

उनले सीएमाथि सुरुबाटै निश्चित व्यक्तिलाई मात्र दोष थोपर्ने नियत राखेको आरोप लगाउँदै थपे, “यस्तो लाग्छ, उनीहरूले सुरुदेखि नै कसलाई दोषी देखाउने भनेर तय गरिसकेका थिए, त्यही उद्देश्य पूरा गर्न झारा टार्ने छानबिन गरे र अहिले बलरहरूलाई केही थाहा थिएन भन्ने झुटो कथा कायम राख्न चाहन्छन्। यसमा स्पष्ट रूपमा ‘कभर-अप’ को गन्ध आउँछ।”

यसअघि शुक्रबार पर्थमा अस्ट्रेलिया र इङ्ग्ल्यान्डबीचको पहिलो एकदिवसीय खेलको प्रत्यक्ष प्रसारणमा बोल्दै वार्नरले कप्तान प्याट कमिन्समाथि पनि प्रहार गरेका थिए।

कमिन्सले शुक्रबार सिड्नीमा गरेको पत्रकार सम्मेलनमार्फत पूर्वसहकर्मी उस्मान ख्वाजालाई ‘बलि चढाएको’ (थ्रोन अन्डर द बस) टिप्पणी गर्दै वार्नरले ख्वाजाले पुस्तकमा लेखेको कुरा सत्य भएको र आफू पूर्ण रूपमा ख्वाजाको पक्षमा रहेको बताएका थिए।

क्रिकेट अस्ट्रेलियाको टालटुले जवाफ
वार्नरको गम्भीर आरोपको जवाफ दिँदै सीएका प्रवक्ताले भने, “हामीले पहिले पनि भनेझैँ, सुरुवाती छानबिनकै बेला सबै खेलाडीलाई आफ्नो कुरा राख्ने अवसर दिइएको थियो र त्यसपछिका आठ वर्षमा पनि नयाँ प्रमाण भए अघि ल्याउने सुविधा सबैलाई थियो। सीएले प्रत्येक वर्तमान तथा पूर्वखेलाडीको आ-आफ्नो पक्ष राख्ने अधिकारको सम्मान गर्छ।”

यद्यपि, सीएको विज्ञप्तिमा हेजलउड, स्टार्क र लायनसँग २०१८ मा सोधपुछ गरिएको थियो वा थिएन भन्नेबारे सीधा जवाफ दिइएको छैन। उता सीएका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टड ग्रिनबर्गले भने पुराना प्रतिवेदन र बयानहरूमा एकरूपता रहेकाले छानबिन पुनः खोल्ने वा नयाँ अनुसन्धान गर्ने कुनै आधार नरहेको स्पष्ट पारेका छन्।

ख्वाजाको पुस्तक र कमिन्सको ६८ मिनेट लामो प्रतिवाद
यो ताजा विवाद यसै साता सार्वजनिक भएको उस्मान ख्वाजाको आत्मकथात्मक पुस्तकबाट सुरु भएको हो। पुस्तकमा ख्वाजाले न्युल्यान्ड्समा भएको बल-टेम्परिङ योजनाका प्रमुख सूत्रधार (आर्किटेक्ट) कमिन्स र अन्य खेलाडीहरू रहेको गम्भीर दाबी गरेका छन्।

साथै, ख्वाजाले आफैँले पनि क्यामरन ब्यानक्रफ्टलाई स्यान्डपेपर प्रयोग गर्दा ‘सावधान रहन’ भनेको र पोर्ट एलिजाबेथ (हाल ग्केबेर्हा) मा भएको दोस्रो टेस्टमा समेत अम्पायरले बाउन्ड्री नजिकै छाडेको बल टिपेर ब्यानक्रफ्टले स्यान्डपेपर लगाएको खुलासा पुस्तकमा गरेका छन्।

यसको कडा प्रतिवाद गर्दै कप्तान प्याट कमिन्सले शुक्रबार सिड्नीमा ६८ मिनेट लामो पत्रकार सम्मेलन गरेका थिए। उनले ख्वाजाका आरोपलाई पूर्णतः बकवास भन्दै मैदानमा स्यान्डपेपर लगिँदै छ भन्ने कुरा सबै खेलाडीलाई थाहा थियो भन्नु शतप्रतिशत गलत भएको बताए।

“मैले आठ वर्षदेखि एउटै कुरा भन्दै आएको छु- मलाई त्यस्तो भइरहेको छ भन्ने थाहा थिएन,” कमिन्सले भने, “ख्वाजाले म र अरूलाई स्यान्डपेपर योजनाको सूत्रधार भन्नु पूर्णतः बकवास हो। बरु ब्यानक्रफ्टलाई सावधान रहन भनेको भन्ने ख्वाजाको स्वीकारोक्ति सुनेर म छक्क परेँ । साथीहरूले एकअर्काको जीवन र प्रतिष्ठामाथि यसरी खेलबाड गर्दैनन्।”

कमिन्सले दोस्रो टेस्टमा अम्पायरले छाडेको बलमा टेम्परिङ भएको भन्ने कुरासमेत यसै साता मात्र सुनेको बताए। उता, मिचेल स्टार्कले पनि बलरहरूले न्युल्यान्ड्समा कुनै बाह्य वस्तु लगिएको थाहा नभएको भनी सन् २०२१ मा जारी गरेको संयुक्त वक्तव्यमा आफू अझै अडिग रहेको बताएका छन्।

अस्ट्रेलियन क्रिकेटमा तरङ्ग, ख्वाजाको कार्यक्रम स्थगित
२०१८ को पुस्ता नै आपसमा विभाजित हुने गरी चर्किएको यो विवादले अस्ट्रेलियन क्रिकेट वृत्तमा चिन्ता बढाएको छ। त्यसबेला टोलीमा नरहेका ब्याटर मार्नस लाबुस्चेनले सेफिल्ड सिल्डको खेलपछि प्रतिक्रिया दिँदै अहिलेको अवस्थाले कसैलाई खुसी नबनाएको र खेलका लागि यो राम्रो सङ्केत नभएको बताए।

यसैबीच, शनिबार मेरील्यान्ड्समा तय गरिएको ख्वाजाको पुस्तक हस्ताक्षर कार्यक्रम प्रकाशक ‘पेन्गुइन’ले स्थगित गरेको छ। घटनाका अर्का मुख्य पात्र क्यामरन ब्यानक्रफ्टले सार्वजनिक रूपमा बोल्ने वा नबोल्नेबारे विचार गरिरहेको बुझिएको छ भने तत्कालीन कप्तान स्टिभ स्मिथ आगामी साता न्युयोर्कबाट अस्ट्रेलिया फर्किँदै छन्।

कात्तिक २८, २०८३ शनिबार ११:५०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।