रङ्गीविरङ्गी जर्सीमा ‘२० ओभरको टेस्ट क्रिकेट’ !

रङ्गीविरङ्गी जर्सीमा ‘२० ओभरको टेस्ट क्रिकेट’ !

काठमाडौं : सेतो जर्सी, धैर्यपूर्ण रक्षात्मक ब्याटिङ र प्रतिओभर ३ देखि ४ रनको सेरोफेरोमा घुम्ने सुस्त गति- सामान्यतया यो दृश्य पाँचदिने टेस्ट क्रिकेटको पहिचान हो। यता रङ्गीविरङ्गी जर्सी, चौका-छक्काको वर्षा र २० ओभरको फटाफट मनोरञ्जन टी-२० क्रिकेटको मर्म मानिन्छ।

तर, कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चलिरहेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन हेर्दा लाग्छ- जर्सी रङ्गीविरङ्गी भए पनि मैदानभित्र खेलिने शैली र रनको गति ठ्याक्कै ‘२० ओभरको टेस्ट क्रिकेट’ जस्तो बन्न पुगेको छ।

ब्याटरहरू क्रिजमा रन बटुल्नभन्दा टिकिरहन सङ्घर्ष गरिरहेका छन्। छक्का-चौका प्रहार गर्नुपर्ने डेथ ओभरमा समेत एक-एक रनका लागि पसिना बगाउनुपर्ने अवस्था छ। शुक्रबार सम्पन्न खेलहरूले त यो दृश्यलाई अझ छर्लङ्ग बनाइदिए।

दिनको दोस्रो खेलमा जनकपुर बोल्ट्सले पूरै २० ओभर ब्याटिङ गर्दा जम्मा ८८ रन (८८/९) मात्र जोड्न सक्यो- अर्थात् प्रतिओभर मात्र ४.४० रनको गतिमा, जुन आधुनिक टेस्ट क्रिकेटको औसत रनगतिसँग मिल्दोजुल्दो हो।

उक्त खेलमा न्युजिल्यान्डका विस्फोटक अलराउन्डर जिमी नीशम स्वयं ८ बल खेलेर शून्य रनमै पभेलियन फर्किए। ८९ रनको झिनो लक्ष्य पछ्याउनसमेत चितवन राइनोजले १७.२ ओभरमा ६ विकेट गुमाएर (९२/६) कडा सङ्घर्ष गर्नुपर्यो

 शुक्रबारकै पहिलो खेलमा पनि सुदूरपश्चिम रोयल्सले १२५ रन बनाएर काठमाडौं गोर्खाजलाई ११८ रनमा रोक्दै ७ रनको जित निकाल्यो।

‘१२० रनमै जितिने लिग ठीक भएन’
जनकपुरको लिग चरणको सातौं तथा अन्तिम खेल सकिएलगत्तै शुक्रबार जिमी नीशमले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत कीर्तिपुरको पिचप्रति कडा असन्तुष्टि पोखे।

नेपाल र एनपीएलमा आउन आफूलाई असाध्यै मन पर्ने उल्लेख गर्दै उनले सिङ्गो प्रतियोगितामै १२० रन विजयी स्कोर बन्ने अवस्था टी–२० का लागि सुहाउँदो नभएको टिप्पणी गरे।

“यी पिचहरूका बारेमा गम्भीर रूपमा केही न केही गर्नैपर्छ,” नीशमले लेखेका छन्, “१२० रन नै विजयी स्कोर बन्ने खालको पूरै प्रतियोगिता हुनुभएन।”

नीशमको यो आक्रोशअघि चितवन राइनोजका इङ्ग्लिस ब्याटर डेविड मलानले उस्तै शैलीको असन्तुष्टि पोखे।

जनकपुरविरुद्ध अविजित ३५ रन बनाउँदै ‘प्लेयर अफ द म्याच’ बनेपछि पत्रकार सम्मेलनमा बोल्दै मलानले पिच निकै ‘ट्रिकी’ (कठिन) रहेको र बलरहरूका पक्षमा अलि बढी नै झुकेको बताए।

टी-२० क्रिकेट मनोरञ्जन र रन बनाउने खेल भएकाले कम्तीमा १४० देखि १६० रन बन्ने पिच भए खेल अझ प्रतिस्पर्धात्मक र दर्शकमैत्री हुने उनको सुझाव थियो।

यद्यपि दोस्रो इनिङ्समा शीतका कारण बल चिप्लो बन्दा ब्याटिङ केही सहज भएको अनुभव उनले सुनाए।

दोस्रो खेलमा त जनकपुर २० ओभरमा ८८ रनमै समेटियो, जसमा नीशम स्वयं ८ बलमा डक भए। ८९ रनको झिनो लक्ष्य पछ्याउनसमेत चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर (९२/६) कडा सङ्घर्ष गर्नुपर्यो।

अन्य खेलाडी र प्रशिक्षक के भन्छन्?
सिजन-३ मा पिचको प्रकृतिबारे प्रश्न उठाउने नीशम र मलान मात्र होइनन्। प्रतियोगिताका अन्य विदेशी स्टार, प्रशिक्षक र सरोकारवालाले पनि कीर्तिपुरको सतहबारे खुलेर प्रतिक्रिया दिएका छन्।

लिगका शीर्ष रनकर्तामध्येका एक इङ्ग्लिस ब्याटर बोपाराले यस सिजनको पिचलाई अहिलेसम्मकै कमजोरमध्येको एक भन्दै टिप्पणी गरेका छन्। उनका अनुसार यस सिजनका पिचहरू उत्कृष्ट हुन सकेका छैनन्, यद्यपि काठमाडौं गोर्खाजविरुद्धको २०औँ खेलमा भने तुलनात्मक रूपमा राम्रो पिच देखिएको थियो।

वेस्ट इन्डिजका पूर्वदिग्गज तथा जनकपुरका मुख्य प्रशिक्षक शिवनारायण चन्द्रपौलले प्रतियोगिताको पहिलो खेलदेखि नै त्रिवि मैदानको विकेट ब्याटिङका लागि सहज नरहेको प्रतिक्रिया दिएका छन्।

काठमाडौं गोर्खाजका प्राविधिक निर्देशक शरद भेषावकर, विराटनगर किङ्सका प्रशिक्षक धम्मिका प्रसाद र लुम्बिनी लायन्सका कन्सल्टेन्ट प्रशिक्षक शक्ति गौचनले पनि यस सिजनको पिच ब्याटरका लागि चुनौतीपूर्ण रहेको स्वीकारेका छन्।

२५ खेलमा औसत कति रन बन्यो?
जारी सिजनको २५औं खेलसम्मको तथ्याङ्क केलाउँदा ब्याटरहरू रन जोड्न कति सङ्घर्षरत छन् भन्ने स्पष्ट देखिन्छ।

कुल २५ निर्धारित खेलमध्ये लुम्बिनी र चितवनबीचको सातौं खेल वर्षाका कारण टससमेत नभई रद्द भएको थियो भने आठौं खेल (विराटनगर र सुदूरपश्चिम) वर्षाले ५-५ ओभरमा छोट्याइएको थियो।

बाँकी २३ वटा पूर्ण २० ओभरका खेलमा ४६ इनिङ्स भएका छन्। २३ पूर्ण खेलका ४६ इनिङ्समा कुल ६ हजार २२७ रन बनेको छ। यसअनुसार प्रतिइनिङ्स औसत स्कोर जम्मा १३५.३७ रन र प्रतिम्याच २७०.७४ रन मात्र छ।

पहिलो इनिङ्समा औसत १४०.६५ रन बनेको छ भने लक्ष्य पछ्याउने दोस्रो इनिङ्समा औसत झरेर १३०.०९ रन मा सीमित भएको छ। जसमा ५ ओभरको खेलसमेत जोड्दा खेलिएका २४ खेल अर्थात ४८ इनिङ्समा कुल ६ हजार ४०२ रन बनेको छ, जसको समग्र औसत १३३.३८ रन प्रतिइनिङ्स छ।

२३ पूर्ण खेलका ४६ इनिङ्समध्ये २० इनिङ्स (करिब ४३.५ प्रतिशत) मा टोलीहरू १३० रनभन्दा कम स्कोरमा समेटिएका छन् भने ९ इनिङ्समा १०० रनसमेत कटेको छैन।

सिजनभरि अहिलेसम्म २०० रनको आँकडा जम्मा एकपटक मात्र पार भएको छ। पोखरा एभेन्जर्सले कर्णालीविरुद्ध २१७/३ बनाएको उक्त खेलमा क्यानेडियन युवा ब्याटर युवराज सिंह सामराले नटआउट रहँदै १०२ रन जोडेका थिए।

२१औँ देखि २५औँ खेलसम्म आइपुग्दा पिच झन् सुस्त बनेको देखिन्छ। पछिल्ला ५ खेलका १० इनिङ्समा कुल १ हजार ११६ रन अर्थात् प्रतिइनिङ्स औसत मात्र १११.६ रन बनेको छ। यी ५ खेलमा कुनै पनि टोलीले १३६ रनभन्दा माथि स्कोर छुन सकेका छैनन्।

किन सुस्त बन्यो कीर्तिपुरको पिच ?
त्रिवि मैदानमा रन नबन्नुका पछाडि मुख्यतः तीन कारण देखिन्छन्।

कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म २७ दिनको अवधिमा प्रतियोगिताका सबै ३२ खेल एउटै मैदान (त्रिवि कीर्तिपुर) मा खेलाइँदै छ। लगातार ‘डबल हेडर’ हुँदा पिचले आराम र मर्मतका लागि पर्याप्त समय पाउन सकेको छैन।

सिजन-३ का लागि पुरानो माटो हटाएर नयाँ माटो र स्थानीय घाँस रोपी पिच पुनर्निर्माण गरिएको थियो। तर कात्तिकको चिसो मौसम, बिहानीपख लाग्ने कुहिरो र सतहमा रहने चिस्यानका कारण पिच चाँडै ‘रिकभर’ हुन नपाएको र बल रोकिएर आउने समस्या देखिएको हो।

खराब पिचमा आईसीसीको नियम के छ ?
एनपीएलको तेस्रो सिजनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक मान्यता र ‘लिस्ट ए टी-२०’ को दर्जा पाएको छ। यस्तो अवस्थामा खराब पिच हुँदा आईसीसीले कारबाही गर्छ कि गर्दैन भन्ने जिज्ञासा धेरैमा छ।

आईसीसीको औपचारिक ‘पिच तथा आउटफिल्ड अनुगमन प्रणाली’ प्रत्यक्ष रूपमा अन्तर्राष्ट्रिय खेलहरू (टेस्ट, एकदिवसीय, टी-२० अन्तर्राष्ट्रिय र आईसीसी विश्वकप) मा मात्र लागू हुन्छ, घरेलु फ्रेन्चाइज लिगहरूमा होइन।

फ्रेन्चाइज लिगमा पिचको गुणस्तर अनुगमन र सुधारको सम्पूर्ण जिम्मेवारी सम्बन्धित देशको क्रिकेट बोर्ड अर्थात नेपालको हकमा क्यानको हुन्छ।

तर आईसीसीले अन्तर्राष्ट्रिय खेलमा भने एक्सनमा उत्रन्छ। सन् २०२३ को नोभेम्बरमा अद्यावधिक गरिएको नियमअनुसार आईसीसी म्याच रेफ्रीले पिचलाई भेरी गुड (धेरै राम्रो), स्याटिसफ्याक्ट्री (सन्तोषजनक), अनस्याटिसफ्याक्ट्री (असन्तोषजनक) र अनफिट (अयोग्य) गरी चार श्रेणीमा मूल्याङ्कन गर्छन्।

ब्याट र बलबीच सन्तुलित प्रतिस्पर्धा नहुने अर्थात ब्याटर वा बलरलाई अस्वाभाविक सहयोग गर्ने पिचलाई ‘असन्तोषजनक’ (१ डिमेरिट अङ्क) र खेलाडीको सुरक्षामा खतरा पुग्ने पिचलाई ‘अयोग्य’ (३ डिमेरिट अङ्क) मानिन्छ।

५ वर्षको अवधिमा कुनै मैदानले ६ डिमेरिट अङ्क पाएमा १२ महिना र १२ अङ्क पाएमा २४ महिनाका लागि अन्तर्राष्ट्रिय क्रिकेट आयोजना गर्न प्रतिबन्ध लाग्छ।

एनपीएलमा आईसीसीको डिमेरिट अङ्क नलागे पनि त्रिवि मैदान नेपालको प्रमुख अन्तर्राष्ट्रिय रङ्गशाला हो। आगामी दिनमा यही मैदानमा विश्वकप छनोट वा द्विपक्षीय अन्तर्राष्ट्रिय शृङ्खला आयोजना हुँदा पिचको यस्तै व्यवहार दोहोरिए आईसीसी म्याच रेफ्रीबाट डिमेरिट अङ्क पाउने जोखिम रहन्छ।

साथै, डीआरएस प्रविधि र डेविड वार्नर, डेविड मिलर, शाकिब अल हसन, आन्द्रे रसेलजस्ता विश्वचर्चित खेलाडी सहभागी प्रतियोगितामा पिच कमजोर देखिनुले लिगको अन्तर्राष्ट्रिय छविमै असर पार्न सक्छ।

के भन्छ क्यान?
नेपाल क्रिकेट संघ(क्यान)का उपाध्यक्ष रोशन सिंहले प्रतियोगिताअघि पिचले कस्तो व्यवहार देखाउँछ भनेर ठ्याक्कै पूर्वानुमान गर्न कठिन हुने बताउँदै यो तयारी र स्याहारमा निर्भर रहने उल्लेख गरेका छन्।

उनले क्यान सचिव तथा एनपीएल गभर्निङ काउन्सिलका संयोजक पारस खड्काले पनि पिचको विषयमा क्युरेटरसँग छलफल गरिसकेको र आगामी खेलहरूमा पिचको अवस्था सुधार हुने अपेक्षा गरिएको बताए।

कात्तिक २८, २०८३ शनिबार ०८:२९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।