गोरखाको धार्चेमा गयो ठूलो सुख्खा पहिरो, बुढीगण्डकी नदी आसपासका क्षेत्रमा जोखिम बढ्यो
काठमाडौं : गोरखाको धार्चे गाउँपालिका–१ ठाडोभर्याङ क्षेत्रमा शनिबार बिहान ठूलो सुख्खा पहिरो खसेको छ । बुढीगण्डकी नदीपारि पर्ने क्षेत्रमा बिहान करिब साढे ८ बजे पहिरो खसेको हो।
अधिकारीहरुका अनुसार ठाडोभर्याङतर्फ ठूलो पहिरो खस्नुका साथै यारुबगरको क्यान्टिलिभर पुल आसपास पनि पहिरो गएको छ। पहिरोले ठूलो क्षेत्र ओगटे पनि हालसम्म कुनै पनि मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त नभएको नभएको गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।
नेपाल न्यूज बैंकसँग उनले भने, "पहिरो गएको खबर आएको छ, तर अहिलेसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन।"
यसअघि गत असोज २५ गते चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङमा ठूलो सुख्खा पहिरो खसेपछि बुढीगण्डकीमा विनाशकारी बाढी आएको थियो। त्यसपछि कात्तिक १७ गते चुमनुब्री–५ मा सेराङ गुम्बा जाने बाटोमा र कात्तिक २० गते चुमनुब्री–१ साम्दो क्षेत्रमा पनि ठूलो सुख्खा पहिरो खसेको थियो।
साम्दोमा खसेको पहिरोले बुढीगण्डकीको सहायक खोला थुनिएको थियो। गोरखाको उत्तरी क्षेत्रमा पछिल्लो समय लगातार सुख्खा पहिरो खस्न थालेपछि नदी आसपासका बस्ती र पूर्वाधारमा जोखिम बढेको छ।
कात्तिक २८, २०८३ शनिबार १२:४४:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।