चीन भ्रमणअघि रास्वपा प्रतिनिधिमण्डलद्वारा सभापति लामिछानेसँग परामर्श

चीन भ्रमणअघि रास्वपा प्रतिनिधिमण्डलद्वारा सभापति लामिछानेसँग परामर्श

काठमाडौं : चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा चीन भ्रमणमा जान लागेको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेको छ।

महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा भोलि (कात्तिक २९ गते) बेइजिङ प्रस्थान गर्न लागेको २० सदस्यीय प्रतिनिधिमण्डलले भ्रमणको पूर्वतयारी तथा समसामयिक राजनीतिक विषयमा शनिबार सभापति निवासमा लामिछानेसँग परामर्श गरेको हो।

यसअघि उक्त टोलीले सिंहदरबारमा प्रधानमन्त्री एवं रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) सँगसमेत भेट गरी भ्रमणका विषयमा छलफल गरेको थियो।

रास्वपाका प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिअनुसार भ्रमणका क्रममा रास्वपा र सीपीसीबीच आपसी अनुभव आदानप्रदान गर्नुका साथै सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि र जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्व निर्माणलगायतका बहुआयामिक विषयमा छलफल हुनेछ।

दुवै पक्षले यस भ्रमणलाई नेपाल र चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्यलाई थप सुदृढ र विस्तार गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको विज्ञप्तिमा उल्लेख छ।

भ्रमण टोलीमा को-को छन् ?
महामन्त्री आचार्यको नेतृत्वमा चीन जान लागेको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलमा पार्टीका पदाधिकारी, सांसद तथा केन्द्रीय नेताहरू सहभागी छन्।

टोलीमा संसदीय दलका उपनेता गणेश पराजुली, सहमहामन्त्री हरि ढकाल, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित लिमा अधिकारी आचार्य, समीक्षा बाँस्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा र रमेशकुमार सापकोटा रहेका छन्।

त्यस्तै, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा पनि भ्रमण टोलीमा सम्मिलित छन्।

कात्तिक २८, २०८३ शनिबार १०:४५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।