छठमा वर्षा र हिमपातको सम्भावना, पश्चिमी पहाडमा मेघगर्जनको जोखिम

छठमा वर्षा र हिमपातको सम्भावना, पश्चिमी पहाडमा मेघगर्जनको जोखिम

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण आज हिमाली र पहाडी भू-भागमा आंशिक बदली भई एक-दुई स्थानमा छिटपुट वर्षा र हिमपातको सम्भावना रहे पनि भोलि छठ पर्वको दिन भने वर्षाको प्रभाव अझ बढ्ने देखिएको छ।

यता तराई क्षेत्रमा वायु प्रदूषण अस्वस्थकर स्तरनजिक पुगिरहेका बेला भोलिको वर्षाले प्रदूषणमा केही अस्थायी राहत दिन सक्ने आकलन गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ।

मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहे पनि बाँकी तराईको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

राति हिमाली तथा पहाडी भेगमा आंशिक बदली रहने र बिहानपख तराई, उपत्यका तथा खोँचहरूका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने पूर्वानुमान छ।

छठ पर्वमा वर्षा, चट्याङ र यात्रामा सतर्कता
मौसमविद् विनोद पोखरेलका अनुसार हिजो र आज एक-दुई ठाउँमा मात्र छिटपुट वर्षाको सम्भावना रहे पनि भोलि छठ पर्वको दिन नेपालको पश्चिमी आधा भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यस्तै, पूर्वी आधा भागका केही स्थानमा पनि छिटपुट वर्षा हुन सक्ने र वर्षा मुख्यतः पहाडी तथा हिमाली भेगमा केन्द्रित हुने उनको पूर्वानुमान छ।

विशेषगरी पोखरालगायत पश्चिमी पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ भने एकाध स्थानमा असिना पर्ने न्यून सम्भावनासमेत रहेको छ। बाहिरका कार्यक्रम वा यात्रामा निस्कँदा मौसमको ख्याल गर्न मौसमविद् पोखरेलले सुझाव दिएका छन्।

उनका अनुसार बंगालको खाडीमा बन्न सक्ने न्यूनचापीय प्रणालीले नेपालमा वर्षा गराउने सम्भावना हालसम्म निकै कम देखिएको छ। यद्यपि अझै एक हप्ताभन्दा बढी समय बाँकी रहेकाले उक्त पूर्वानुमान फेरिन सक्ने जनाइएको छ।

तराईको वायु प्रदूषण चिन्ताजनक, अस्थायी राहतको आशा
यसैबीच, वायु गुणस्तरसम्बन्धी पछिल्लो अपडेट अनुसार बाक्लो तुवाँलो र धुवाँले इन्डो-ग्याङ्गेटिक प्लेन ढाकेको छ।

जसका कारण नेपाल, भारत र पाकिस्तानका विभिन्न भागमा वायु अत्यन्त अस्वस्थकर बनेको छ। नेपालमा काठमाडौं उपत्यकाको वायु गुणस्तर तुलनात्मक रूपमा केही राम्रो रहे पनि तराई क्षेत्रको प्रदूषण भने अस्वस्थकर स्तरको नजिक पुगिरहेको जनाइएको छ।

भोलि पश्चिमी वायुको प्रभावले गराउने वर्षाले स्थानीय स्तरमा प्रदूषण घटाउन अस्थायी राहत दिन सक्ने भए पनि यसले सम्पूर्ण क्षेत्रको प्रदूषण पूर्ण रूपमा सफा गर्ने सम्भावना न्यून छ।

त्यसपछि तत्काल वर्षाको सम्भावना नरहेकाले हावाको गति कमजोर भइरहने र प्रदूषणका स्रोतहरू जारी रहने हो भने वायु प्रदूषण पुनः बढ्न सक्ने चेतावनी दिइएको छ।

कात्तिक २८, २०८३ शनिबार ०७:२७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।