घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, अग्रिम बुकिङ बिना बास पाउनै मुस्किल
गण्डकी : तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका प्रमुख पर्यटकीय गाउँहरू घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिएका छन्।
पर्यटकको अत्यधिक चाप बढेपछि यी क्षेत्रका होटल तथा घरबास (होमस्टे) हरू भरिभराउ भएका छन् भने अग्रिम बुकिङ नगरी पुग्ने पर्यटकलाई बास पाउन कठिन भएको छ।
घान्द्रुकमा दैनिक ३ हजार ५ सयसम्म पर्यटक
अन्नपूर्ण गाउँपालिका–१० र ११ मा अवस्थित घान्द्रुकमा तिहारको भोलिपल्टैदेखि पर्यटकको घुइँचो लागेको छ। घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङका अनुसार अहिले दैनिक तीन हजार चार सयदेखि तीन हजार पाँच सयसम्म पर्यटक गाउँ पुगिरहेका छन्। पर्यटकको चापले होटलमा कोठा पाउन कठिन भएपछि समितिले अग्रिम ‘बुकिङ’ गरेर मात्र भ्रमणमा आउन आग्रह गरेको छ।
घान्द्रुक पुग्नेमा अधिकांश आन्तरिक पर्यटक छन् भने भारतीय तथा अन्य मुलुकका पर्यटकको आगमन पनि भइरहेको छ। अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यका रूपमा रहेको घान्द्रुक अन्नपूर्ण आधार शिविर र पुनहिल–घोरेपानी पदमार्गमा पर्ने भएकाले पदयात्रीका लागि विश्रामस्थलसमेत हो।
अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको मनोरम दृश्य, गुरुङ समुदायको मौलिक संस्कृति, गाउँले परिवेश र स्थानीय आतिथ्य घान्द्रुकका मुख्य आकर्षण हुन्। सडक पहुँच विस्तार भएपछि पछिल्लो समय आन्तरिक पर्यटकको आगमन थप बढेको स्थानीय पर्यटन व्यवसायी बताउँछन्। पर्यटन व्यवस्थापन समितिका अनुसार गाउँमा रिसोर्टसहित ८० होटल र ३५ घरबास सञ्चालनमा छन्।
सिक्लेसमा होटल व्यवस्थापनमा चुनौती
मादी गाउँपालिका–१ स्थित सिक्लेस गाउँमा पनि पर्यटकको चाप उस्तै छ। पर्यटक सूचना केन्द्रका अनुसार तिहारको भोलिपल्ट एक हजार तीन सय २४ जना पर्यटक सिक्लेस पुगेका थिए। एकैपटक ठूलो सङ्ख्यामा पर्यटक आउँदा होटल व्यवस्थापनमा कठिनाइ भएको स्थानीय व्यवसायीले बताएका छन्।
होटलहरू आइतबारसम्मका लागि पूर्ण रूपमा बुकिङ भइसकेकाले कोठाको अवस्था बुझेर मात्र यात्रा तय गर्न व्यवसायीहरूले अनुरोध गरेका छन् ।
ढुङ्गा र जस्ताका एकै बान्कीका छाना, ढुङ्गे आँगन, गुरुङ सङ्ग्रहालय, शान्ति स्मारक र सिक्लेस–कपुचे–कोरी पदमार्गका कारण सिक्लेस पछिल्लो समय पर्यटकको रोजाइमा परेको छ।
हिमालको काखमा अवस्थित सिक्लेस प्राकृतिक सौन्दर्यसँगै गुरुङ संस्कृति र परम्पराका लागि परिचित छ। एकै बान्कीका ढुङ्गा र जस्ताका छाना भएका घर, ढुङ्गे आँगन र बाटा, पुराना शैलीका झ्यालढोका तथा साँघुरा गल्लीले गाउँको मौलिक पहिचान झल्काउँछन्। मादी खोला, हरियाली वनपाखा र हिमाली दृश्यले जोकोही मन्त्रमुग्ध हुन्छन्।
गुरुङ सङ्ग्रहालय, शान्ति स्मारक, सिक्लेस पार्क, मौलिक भेषभूषा, नाचगान र स्थानीय परिकार यहाँका थप आकर्षण हुन्। सिक्लेस–कपुचे–कोरी पदमार्ग सञ्चालनमा आएपछि पदयात्राका लागि आउने पर्यटकको सङ्ख्या पनि बढेको स्थानीय व्यवसायी बताउँछन् । दुई दशकअघि सामुदायिक घरबासबाट सुरु भएको यहाँको पर्यटन व्यवसाय अहिले होटल र घरबाससम्म विस्तार भएको छ।
ल्वाङको चियाबारी र घरबासले तान्यो पर्यटक
पोखरा महानगरपालिकासँग जोडिएको माछापुच्छ्रे गाउँपालिका–८ को ल्वाङ गाउँमा पनि पर्यटकको आगमन बढेको छ। तिहारको भोलिपल्टदेखि होटल र घरबासमा पाहुना भरिएपछि व्यवस्थापनमा कठिनाइ भएको ल्वाङ सामुदायिक घरबास व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष मञ्जु गुरुङले बताइन्।
विसं २०६७ मा सात घरबाट सुरु भएको ल्वाङको घरबास व्यवसाय अहिले २६ घरमा विस्तार भएको छ। यहाँका घरबासमा एकै रातमा ४०० सम्म पाहुनालाई आवासको व्यवस्था गर्ने क्षमता छ। प्रकृति र गुरुङ संस्कृतिको अनुभव लिन चाहने पर्यटकका लागि ल्वाङ लोकप्रिय गन्तव्य बन्दै गएको छ।
समुद्र सतहबाट एक हजार ४०० मिटर उचाइमा रहेको ल्वाङबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खलामा देखिने सूर्योदयको दृश्य आकर्षक मानिन्छ। गाउँको सिरानमा एक हजार २०० रोपनी क्षेत्रफलमा फैलिएको चियाबारी यहाँको अर्को प्रमुख आकर्षण हो। चियाबारी, गुरुङ संस्कार, रैथाने खाना र स्थानीय जीवनशैलीको अनुभव लिन स्वदेशी तथा विदेशी पर्यटक गाउँ पुग्ने गरेका छन्।
ल्वाङमा पर्यटकले स्थानीय परिकार बनाउने तरिका, खेतीपाती र निगालोबाट डोको तथा सेखुजस्ता सामग्री बनाउने सीपबारे जानकारी लिन पाउँछन्। अन्नपूर्ण आधार शिविर र मर्दी पदमार्ग जाने पर्यटकले पनि यहाँ विश्राम गर्ने गरेका छन्। नजिकैको पोखरा क्यानोनिङ र घलेल गाउँले यस क्षेत्रको पर्यटकीय आकर्षण थपेका छन्।
पोखराबाट घान्द्रुक, सिक्लेस र ल्वाङसम्म सडकबाट पुग्न सकिने भएकाले यी गाउँको भ्रमण सहज बनेको छ। प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, पदयात्रा र घरबासको अनुभवले यी गन्तव्य पर्यटकको रोजाइमा पर्दै आएका छन्। तिहार र छठको बिदासँगै बढेको पर्यटक आगमनले स्थानीय पर्यटन व्यवसायलाई चलायमान बनाएको छ भने पर्यटकको चाप व्यवस्थापन र पर्याप्त आवासको उपलब्धता चुनौतीका रूपमा देखिएको छ।
कात्तिक २८, २०८३ शनिबार ११:१७:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।