नीर शाहको मुख्य भूमिकामा ‘हजुरबाले भनेथे’ बन्ने, नातिको खोजी जारी

नीर शाहको मुख्य भूमिकामा ‘हजुरबाले भनेथे’ बन्ने, नातिको खोजी जारी

काठमाडौं : नेपाली चलचित्र क्षेत्रका वरिष्ठ अभिनेता नीर शाह पुनः एकपटक मुख्य ‘टाइटल रोल’मा देखिने भएका छन्। लक्ष्मीपूजाको अवसर पारेर नयाँ चलचित्र ‘हजुरबाले भनेथे’को औपचारिक घोषणा गरिएको हो।

फिल्म ‘परान’ पश्चात् अभिनेता शाह यस फिल्ममार्फत फेरि मुख्य तथा शीर्ष भूमिकामा दर्शकमाझ आउन लागेका हुन्।

निर्देशक सुरेश न्यौपानेको निर्देशनमा बन्न लागेको यस चलचित्रमा नीर शाह ‘हजुरबा’को भूमिकामा पक्का भइसकेका छन्।निर्माता शोभित बस्नेतले हालै अभिनेता शाहलाई भेटेर मुख्य भूमिकाका लागि फाइनल गरेका हुन्।

फिल्ममा हजुरबाको भूमिकामा नीर शाह निश्चित भए पनि ‘नाति’को पात्रमा कसलाई अभिनय गराउने भन्नेबारे निर्माण टिमले अझै टुङ्गो लगाएको छैन।

चलचित्रमा दुई नायक र दुई नायिकाको अभिनय रहने बताइएको छ। बाँकी कलाकार तथा प्राविधिक टोलीको छनोट तीव्र रूपमा भइरहेको र चाँडै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।

सान्भी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मलाई ‘ए टु जेड क्लिनिङ सप्लायर्स सिड्नी’को तर्फबाट कृष्ण थापा, बन्धुराज वाग्ले, रोमिन पिया र समीर शाहीले संयुक्त रूपमा प्रस्तुत गर्दैछन्।

निरोज श्रेष्ठ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा नवीन घायल तथा सह-निर्मातामा हिमाल भण्डारी रहेका छन्।

आगामी माघ महिनादेखि फ्लोरमा जाने तयारी गरिएको यस फिल्मको ६० प्रतिशत दृश्य अस्ट्रेलिया र बाँकी ४० प्रतिशत जुम्लामा खिचिनेछ।

पूर्णतः पारिवारिक र कमेडी विधामा बन्ने यस चलचित्रको कथावस्तुले दर्शकलाई पेट मिचीमिची हँसाउनुका साथै पारिवारिक संवेदना मार्फत भावुकसमेत बनाउने लक्ष्य राखेको छ।

अनुभवी अभिनेता नीर शाहको केन्द्रीय भूमिका रहने भएपछि घोषणासँगै यो फिल्मप्रति दर्शक र सिनेवृत्तमा चासो बढेको छ।

कात्तिक २२, २०८३ आइतबार २०:३०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।