छठको स्वागतमा सजिँदै काठमाडौंका नदी किनार (तस्बिरहरू)

छठको स्वागतमा सजिँदै काठमाडौंका नदी किनार (तस्बिरहरू)

काठमाडौं : तिहार सकिएसँगै काठमाडौं उपत्यकामा छठ पर्वको चहलपहल सुरु भएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म विधिपूर्वक सूर्यदेवको आराधना र उपासना गरी मनाइने छठ पर्वलाई स्वागत गर्न यतिबेला राजधानीका नदी किनारदेखि बजार क्षेत्रसम्म छुट्टै रौनक छाएको छ।

गौरीघाटस्थित बागमती नदी किनारमा छठ पूजाका लागि आवश्यक तयारी र व्यवस्थापनका काम भइरहेका छन्। व्रतालु तथा आगन्तुक श्रद्धालुहरूको सहजताका लागि घाटमा घाट व्यवस्थापन, नदी किनारको सरसफाइ, बत्ती जडान र सजावटका काम अन्तिम चरणमा पुगेका छन्।

छठ पूजा व्यवस्थापन समिति गौरीघाटका अनुसार यस वर्ष करिब ६०० जना व्रतालुका लागि आवश्यक पर्ने छठघाटको प्रबन्ध मिलाइएको छ। बत्ती र सजावटसँगै वाग्मती किनारको दृश्य फेरिन थालेको छ। छठ पर्वका अवसरमा उपत्यकाका विभिन्न नदी तथा जलाशय किनारमा विशेष चहलपहल हुने गर्छ।

गुह्येश्वरी-गौरीघाटसहित कमलपोखरी, थापाथली, कुपन्डोल, टेकु, बल्खु तथा शंखमूललगायत बागमती, विष्णुमती, मनोहरा खोला किनारमा व्रतालु र श्रद्धालुहरूको भिड लाग्ने गर्छ।

नदी किनारमा सजावटको काम चलिरहँदा राजधानीका बजारहरूमा पनि किनमेलको चहलपहल बढेको छ। विशेषगरी कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा छठ पूजाका लागि आवश्यक सामग्री खरिद गर्ने सर्वसाधारणको भिड देखिन थालेको छ। 

बजारमा बाँसका सामग्री, माटाका भाँडाकुँडा, फलफूल, उखु, अदुवा, केरा, नरिवललगायत पूजाका सामग्री किनमेल गर्नेको चहलपहल बढेको छ। नदी किनारको तयारीदेखि बजारको व्यस्ततासम्मका दृश्यले काठमाडौंमा छठ पर्वको सांस्कृतिक उत्साह र आस्थालाई झल्काएको छ।

कात्तिक २७, २०८३ शुक्रबार १८:१०:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।