रास्वपा नेतृत्व र प्रधानमन्त्री वालेन्द्रको टिममाथि कांग्रेस महामन्त्री पौडेलको गम्भीर आरोप
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सत्ताधारी दल र प्रधानमन्त्रीको टिमले आफ्नो पार्टीभित्र खेल्न खोजेको गम्भीर आरोप लगाएका छन्। शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलनमा उनले सरकार नागरिकको पक्षमा काम गर्न छाडेर अन्य दलको नेतृत्व विरुद्ध खेल्न थालेको गम्भीर आरोप लगाए।
उनले अहिलेको संवैधानिक प्रणाली अन्तर्गत बहुमत कसैको आउन्न भन्दै शासकीय स्वरुपै बदल्ने बहस भइरहेको अवस्थामा रास्वपाको नेतृत्वमा झन्डै दुई तिहाइ मतसहितको सरकार बनेको र त्यसले नागरिकमा स्थिरता ल्याउने आस पलाए पनि सरकार उल्टो बाटोमा हिँडेको उनको आरोप थियो।
दुई तिहाइको समर्थनबाट नागरिकले चाहेकै व्यक्ति वालेन्द्र शाह प्रधानमन्त्री भएपछि नागरिकमा धेरै अपेक्षा र विश्वास जागेको र वालेन्द्रको सरकार बिपी कोइरालापछिको सबैभन्दा बलियो सरकार देखिएको उनले बताए।
“व्यवस्था ल्याउन कुनै योगदान नगरे पनि जनताले जसलाई पत्याउँछ उसले शासन गर्ने हाम्रो व्यवस्था हो। हामी पनि मैदानमा थियौँ। धेरै ठूलो अन्तरले पराजित भयौँ। सरकार बन्यो। विधि अनुसार बहुमत पाएकाले अस्वीकार गर्ने कारण रहेन,” उनले भने “तर सरकार बनेपछि परिपक्वता देखाएन। अत्यन्त अपरिपक्व रूपमा अगाडि बढ्यो। सरकारले लोकतन्त्रमाथि धेरै ठूलो प्रहार गर्न थाल्यो। नागरिकलाई हेप्यो। विधिभन्दा माथि हुँ जस्तो व्यवहार सुरु भयो।”
उनले काम गर्ने शैली पुराना पार्टीका पुराना नेताको जस्तै रहेको भन्दै नागरिकको अपेक्षा अनुसार काम गर्न भन्दा पनि रास्वपा र प्रधानमन्त्रीको टिम अरूको पार्टीमा कसलाई सभापति बनाउने, अन्य दल कसरी फुटाउने भन्नेमा ध्यान केन्द्रित गरेको गम्भीर आरोप लगाए।
उनले हिजोका दिनमा फरक पार्टीका नेताहरू मिलेर सिन्डिकेट बनाएर शासन गर्न खोजेकाले नै कांग्रेसभित्र परिवर्तन भएर त्यो तोडेको दाबी गर्दै उनले अहिले सत्ताधारी दल नै कांग्रेसभित्र खेल्न खोजेको दाबी गरे।
“कांग्रेसभित्र किन खेल्न खोजियो। सरकार किन लाग्नु पर्यो। अरू पार्टी किन लाग्नु पर्यो। पार्टी नियन्त्रणमा लिएर सिन्डिकेट ल्याउने र कब्जा गरेर शासन गर्ने?” उनले प्रश्न गरे।
उनले यति ठूलो जनविश्वास पाएकाले सरकार राम्रो काम गर्नतिर लाग्नु पर्नेमा अन्य पार्टीमा आफू अनुकूल खेल्न खोजेर प्रश्न गर्नेहरूमाथि नियोजित प्रहार भइरहेको दाबी गरे। सरकारको शैली कसैले प्रश्न गर्न मिल्दैन भन्नेमा देखिएको उनले आरोप लगाए।
“कसैको सम्पत्ति छानबिन भयो। प्रतिवेदन खोज्दा प्रश्न गर्ने को होस् भन्ने, नियुक्तीबारे प्रश्न गर्दा प्रश्न गर्ने को हौ भन्ने। कसैलाई मन लागे थुनिदिने। प्रश्न गर्दा प्रश्न गर्ने तिमि को हो भन्यो” उनले भने।
सरकार दुई तिहाइको भएको र भर्खर सरकार बनेकाले काममा केन्द्रित हुनुपर्ने भन्दै उनले प्रश्न गरे “अब काम गर्न यो भन्दा चाहिने अर्को हतियार के हो? नपुगेको के हो?”
कुमार व्यञ्जनकारमाथि प्रहार
उनले कांग्रेस बिचौलियाको राज र चलखेल अन्त्य गर्नु पर्छ भन्ने पक्षमा रहेको र सरकारले यसको प्रारम्भ आफूहरूको सम्पत्ति छानबिन गरेर सुरु गर्दा हुन्छ भन्दै गैर कानुनी काम गर्नेलाई दण्डित गरे त्यसमा कांग्रेसको समर्थन रहने बताए।
तर प्रश्न गर्नेलाई समाप्त गर्ने, अर्को पार्टीको नेतृत्वलाई समाप्त गर्ने व्यवहारले लोकतन्त्र लामो समय जान सक्दैन भन्ने देखिएको र अब कांग्रेस नडराउने र प्रश्न गर्नुपर्ने ठाउँमा प्रश्न गर्ने बताए। उनले प्रश्न गर्नबाट रोक्न अनेक प्रपञ्च भइरहेको भन्दै प्रधानमन्त्रीका सल्लाहकार कुमार व्यञ्जनकारको गतिविधिबारे गम्भीर प्रश्नहरू गरे।
“नेपाली कांग्रेसको नेतृत्व अदालत र राज्य प्रशासनमा बिचौलिया अन्त्य गर्न चाहन्छ। रूपान्तरित कांग्रेस भनेको यही हो। हाम्रो वैधानिकताका लागि कुनै बिचौलियाको सहयोग चाहिन्न। बिचौलिया तपाईँको नियन्त्रणमा छ, राज्य संयन्त्र तपाईँको नियन्त्रणमा छ। चलखेल गरेर कांग्रेस आफ्नो बनाएको प्रमाणित गरे प्रश्न गर्न छाडौँला” उनले भने।
उनले हल्ला गर्न सकिए पनि तर न्याय समाप्त गर्न नसक्ने भन्दै प्रधानमन्त्रीको सल्लाहकारले अनुसन्धानमा रहेको व्यक्तिको मोबाइल प्रहरीबाट लिएर गएको भन्दै प्रश्न गरे “यो कानुनी काम हो? त्यो अधिकार क्षेत्र भित्रको विषय हो?, त्यसो हो भने त बन्दुक अनि गोली पनि लैजान सकिन्छ।”
उनले प्रहरीको नियन्त्रणमा रहेको मोबाइल घरमा लगेर आफूलाई दोष लाग्न सक्ने प्रमाण मेट्ने अनि अरूलाई दोष लगाउने मेसेज पठाउने काम गरेको भन्दै यस्ता गतिविधिबाट आफूहरू नडराउने बताए।
कात्तिक २७, २०८३ शुक्रबार १७:५६:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।