बलिउडलाई अन्डरवर्ल्डको त्रास, कलाकारको सुरक्षामा चुनौती

बलिउडलाई अन्डरवर्ल्डको त्रास, कलाकारको सुरक्षामा चुनौती

एजेन्सी : कलाकारलाई लक्षित गरी गोली प्रहार र फिरौतीका धम्की बढेपछि भारतीय चलचित्र उद्योग बलिउडमा सुरक्षा व्यवस्था कडा पारिएको छ। पछिल्ला घटनाले सन् १९९० को दशकमा मुम्बईको चलचित्र उद्योगमा आपराधिक गिरोहको प्रभाव रहेको समयको सम्झना गराएको छ। 

कलाकारका साथै उनीहरूका परिवार र बालबालिकाको सुरक्षाका लागि निजी अङ्गरक्षकको माग बढेको छ। प्रहरीले पछिल्ला घटनालाई जेलमा रहेका भारतीय अपराधी लरेन्स बिश्नोईको गिरोहसँग जोडेर अनुसन्धान गरिरहेको छ। 

गत अक्टोबरमा अभिनेता टाइगर श्राफको गाडीलाई लक्षित गरी गोली प्रहार गरिएको थियो भने अभिनेता तुषार कपुरसँग छ लाख अमेरिकी डलर फिरौती मागिएको थियो। गोलीकाण्डमा संलग्न भएको आरोपमा सङ्गठित अपराध नियन्त्रण कानुनअन्तर्गत १३ जना पक्राउ परेका छन्।

अभिनेता तथा सुरक्षा सेवा कम्पनीका सञ्चालक रोनित रोयका अनुसार कलाकार र उनीहरूका परिवारले सुरक्षाका लागि अङ्गरक्षक राख्ने क्रम बढाएका छन्। लेखक एस हुसेन जैदीले केही अवसरवादी अपराधीले चर्चित गिरोहको नाम प्रयोग गरी त्रास फैलाइरहेको बताए।

यसैबीच, अभिनेता अमिताभ बच्चनले आफ्नो निवासबाहिर बुलेटप्रुफ घेराबाट प्रशंसकलाई अभिवादन गरेका छन् भने अभिनेता शाहरुख खानको निवास आसपास पनि सुरक्षा बढाइएको छ।

सन् १९९० को दशकमा आपराधिक गिरोहले चलचित्र निर्माण, कलाकार छनोट र वितरणमा प्रभाव जमाउन फिरौती तथा धम्की दिने गरेका थिए। दाउद इब्राहिम र छोटा राजन त्यस समयका चर्चित अपराधी थिए। सन् १९९९ मा सङ्गठित अपराध नियन्त्रणका लागि प्रहरी कारबाही तीव्र भएपछि र चलचित्र क्षेत्रमा व्यावसायिक लगानी बढेपछि उनीहरूको प्रभाव घटेको थियो।

बिश्नोई गिरोहलाई अभिनेता सलमान खानविरुद्धका धम्कीसँग पनि जोडिएको छ। सन् १९९८ मा कालो हरिणको सिकार गरेको आरोपपछि खानलाई धम्की दिइएको थियो। भारतीय अधिकारीहरूले गिरोहका सदस्यलाई खानको निवासबाहिर गोली चलाएको र सन् २०२४ मा राजनीतिज्ञ बाबा सिद्दीकीको हत्यामा संलग्न भएको आरोप लगाएका छन्।

अपराध पत्रकार अहमद अलीले पछिल्ला धम्कीमध्ये केही बिश्नोईको नामबाट लाभ लिन खोज्ने व्यक्तिका प्राङ्क कल हुन सक्ने बताए। सन् १९९० को दशकमा फिरौती र धम्कीको सामना गरेको चलचित्र निर्देशक राजीव रायले अहिलेका घटनाको उद्देश्य पहिलेको भन्दा फरक देखिएको बताए। निर्माता बोनी कपुरले पछिल्लो हिंसा लामो समय नटिक्ने विश्वास व्यक्त गर्दै गोली प्रहारका घटनालाई भने बेवास्ता गर्न नहुने बताए। 

कात्तिक २७, २०८३ शुक्रबार १४:५६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।