बाढी प्रभावितलाई २५ प्रतिशत जरिवाना, बिलसहित सम्पर्कमा आउन प्राधिकरणको आग्रह
नुवाकोट : भदौ १० गतेको बाढीपहिरोबाट प्रभावित नुवाकोटका उपभोक्ताले विद्युत् महसुल बिलमा २५ प्रतिशत जरिवाना लगाइएको भन्दै गुनासो गरेपछि नेपाल विद्युत प्राधिकरण, नुवाकोट वितरण केन्द्रले ध्यानाकर्षण भएको जनाएको छ।
बाढीपहिरोले सडक र पुल बगाउँदा तथा अनलाइन भुक्तानी प्रणालीसमेत अवरुद्ध हुँदा चाहेर पनि समयमै महसुल तिर्न नपाएका बाढी प्रभावितलाई सहुलियत दिनुपर्नेमा उल्टै २५ प्रतिशत जरिवाना जोडेर बिल पठाइएको भन्दै स्थानीय उपभोक्ताले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका थिए।
एक स्थानीय उपभोक्ताले सार्वजनिक गरेको भिडियोमा प्राकृतिक विपत्तिका कारण काउन्टरसम्म पुग्न नसकेको अवस्थामा जरिवाना लगाउनु अन्यायपूर्ण भएको भन्दै सरकारसँग जवाफ मागिएको छ।
उपभोक्ताको उक्त गुनासोपछि नुवाकोट वितरण केन्द्रले एक सूचना जारी गर्दै भोटेकोशी नदीमा आएको बाढीका कारण केन्द्रअन्तर्गत करिब १,५०० घरधुरी प्रत्यक्ष प्रभावित भएको उल्लेख गरेको छ।
केन्द्रकी प्रशासन प्रमुख शान्ता पाण्डेयद्वारा जारी सूचनाअनुसार प्राधिकरण सञ्चालक समितिको भदौ २४ गतेको निर्णयबमोजिम प्रत्यक्ष प्रभावित ग्राहकहरूको भदौ महिनादेखिकै बिल रोक्का गरिएको छ।
त्यसैगरी, बाटोघाटोको समस्यालाई मध्यनजर गर्दै भदौ १० देखि असोज २ गतेसम्म बाढी प्रभावितसहित सबै प्रकारका ग्राहकलाई जरिवाना नलाग्ने गरी बिलबमोजिमकै रकम भुक्तानी गर्ने व्यवस्था मिलाइएको र त्यसबारे सामाजिक सञ्जाल तथा जिल्लाका विभिन्न एफएम रेडियोमार्फत सूचना प्रसारण गरिएको केन्द्रले स्पष्ट पारेको छ।
बाढीबाट क्षति पुगेका मिटरको लगत खारेज गरी निःशुल्क नयाँ मिटर जडान गर्ने व्यवस्थासमेत गरिएको सूचनामा उल्लेख छ।
यद्यपि, केही उपभोक्ताबाट बिलमा जरिवाना लागेको गुनासो प्राप्त भएकाले तोकिएको सहुलियत तथा भदौ २४ को निर्णयविपरीत जरिवाना लागेको वा अन्य कुनै समस्या देखिएको भए आवश्यक छानबिन र समाधानका लागि सम्बन्धित ग्राहकलाई बिलसहित वितरण केन्द्रको कार्यालयमा वा फोन नम्बर ०१०-५६०१८३ मा सम्पर्क गर्न केन्द्रले आग्रह गरेको छ।
उपभोक्ताका गुनासो र समस्यालाई प्राथमिकताका साथ सम्बोधन गरिने केन्द्रले जनाएको छ।
कात्तिक २७, २०८३ शुक्रबार १४:१७:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।