मधेसमा सरकार बदल्ने तयारी सुरु, कात्तिक २८ मा बोलाइयो प्रदेश सभा बैठक
जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि कात्तिक २८ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको छ। मधेस प्रदेशका सभामुख रामआशिष यादवका अनुसार प्रदेशसभाको बैठक सञ्चालनका लागि कात्तिक २७ गते दिउँसो प्रदेशसभाअन्तर्गतको कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र सोही बैठकले कार्यसूची निर्धारण गर्ने छ।
मधेश प्रदेश सरकारमा सहभागी एमाले) र नेपाली कम्युनिस्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्। प्रदेशसभाबाट कात्तिक २८ गते दिउँसो १ बजे विश्वासको मतका लागि प्रदेशसभा सचिवालयलाई मुख्यमन्त्री यादवले बुधवार पत्राचार गरेका थिए।
उता विश्वासको मतका लागि मुख्यमन्त्री यादवले विभिन्न राजनीतिक दलसँग संवाद जारी राखेका छन्। तर नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी एमालेका चार जना मन्त्रीले असोज २५ गते सामूहिक राजीनामा दिँदै विश्वासको मत फिर्ता लिइसकेका छन्। नेपाली कम्युनिस्ट पार्टीका चार जना मन्त्रीले पनि कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन्।
आफ्नो नेतृत्वको सरकार जोगाउन पार्टी सभापति गगन थापा नै सक्रिय भए पनि एमाले र नेकपाले समर्थन दिन सहमत भएका छैनन्। एमाले र नेकपाले जसपाको नेतृत्वमा सरकार गठनको गृहकार्य सुरु गरिसकेका छन्।
मधेस प्रदेशसभामा एक सय सात सदस्य छन्। सरकार गठनका लागि कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ। मधेश प्रदेशसभामा जसपा नेपाल २७ जनासहित सबैभन्दा ठूलो दल हो। एमालेका २३ जना छन्। कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन्।
कात्तिक २६, २०८३ बिहीबार २०:४९:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।