चीनको हनीट्रयापमा परेका हुन् एनभिडियाका सिइओ जेन्सन ?

चीनको हनीट्रयापमा परेका हुन् एनभिडियाका सिइओ जेन्सन ?

एजेन्सी : एनभिडियाका प्रमुख कार्यकारी जेन्सन ह्वाङ र सिङ्गापुरको मेगास्पीड कम्पनीकी प्रबन्ध निर्देशक एलिस ह्वाङबीच विवाहेत्तर सम्बन्ध रहेको सार्वजनिक भएसँगै अमेरिकाको एफबिआइले दुवैको सम्बन्धबारे अनुसन्धान सुरु गरेको छ।

अमेरिकी जासुसी निकायले एलिसलाई चिनिया जासुस रहेको दाबी गरिरहेका छन्। एआई सम्बन्धी चिप्स उत्पादन गर्ने एनभिडिया अमेरिकाको अति महत्वपूर्ण कम्पनी हो। त्यसका सिइओ नै चीनको हनी ट्र्यापमा परेको दाबीहरू सार्वजनिक भएपछि अमेरिकामा यसलाई राष्ट्रिय सुरक्षासँग जोडेर समेत हेर्न थालिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै यसबारे एफबीआईले अनुसन्धान सुरु गरेको जानकारी सार्वजनिक गरे। ट्रम्पले यसबारे सोमबार जेन्सनसँग आफूले कुराकानी गरेको र उनले एलिस चिनिया जासुस भएकोबारे आफूलाई जानकारी नभएको बताएको सार्वजनिक गरेका थिए।

ट्रम्पले पत्रकारहरूसँग भने, "मैले उनलाई सोधेँ, 'के तपाईँलाई उनी जासुस हुन् भन्ने थाहा थियो?' उनले 'मलाई उनी जासुस हुन् भन्ने कुनै अत्तोपत्तो थिएन' भने, र मलाई उनको कुरामा पूर्ण विश्वास छ।"

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले एफबीआईले यस विषयमा अनुसन्धान गरिरहेको पुष्टि गरे पनि यसबारे थप विवरण वा अनुसन्धान कहिले सुरु भयो भन्ने खुलाएनन्। तर, ह्वाङ एक "इमानदार व्यक्ति" भएको र अनुसन्धानपछि उनी सुरक्षित हुनेमा आफू ढुक्क रहेको ट्रम्पले थपे।

सन्दिग्ध चिनियाँ जासुस मानिएकी एलिस ह्वाङसँगको सम्बन्धलाई लिएर एनभिडियाले पनि छुट्टै स्वतन्त्र अनुसन्धान सुरु गरेको छ। यद्यपि, कम्पनीका गोप्य सूचना वा राष्ट्रिय सुरक्षामा कुनै सम्झौता भएको विश्वास गर्ने आधार नभएको एनभिडियाले जनाएको छ। उता चीनले चीनलाई बदनाम गर्ने उद्देश्यले आधारहीन र काल्पनिक आरोप लगाइएको दाबी गरिरहेको छ।

 एप्पलपछि एनभिडिया विश्वकै दोस्रो सबैभन्दा मूल्यवान् कम्पनी हो, जसले निर्माण गर्ने कम्प्युटर चिप्स एआई प्रविधिमा अति महत्त्वपूर्ण मानिन्छन्। यो अफेयर्स सार्वजनिक भएसँगै सोमबार एनभिडियाको सेयर मूल्य ४% भन्दा बढीले घट्दा कम्पनीले करिब २५० अर्ब डलर गुमाएको थियो।

'न्यूयोर्क टाइम्स' को रिपोर्ट अनुसार अमेरिकी गुप्तचर अधिकारीहरू एलिस ह्वाङ (ह्वाङ ले) बेइजिङका लागि जासुसी गर्थिन् भन्नेमा विश्वस्त छन्। उनको जेन्सन ह्वाङसँग कुनै नाता वा पारिवारिक सम्बन्ध भने छैन।

पत्रिकाका अनुसार विदेशमन्त्री मार्को रुबियोले यसै वर्ष वासिङ्टनका उच्च अधिकारीहरूलाई एनभिडिया प्रमुख एक चिनियाँ जासुससँग घनिष्ठ सम्बन्धमा रहेको भन्दै मेमो पठाएका थिए।

एलिस ह्वाङ सिङ्गापुरको कम्पनी मेगास्पीडकि प्रबन्ध निर्देशक थिइन्, जसको एनभिडियासँग व्यापारिक कारोबार रहेको थियो। अमेरिकी अधिकारीहरूले एनभिडियाका उन्नत प्रविधि चीन निर्यातमा राष्ट्रिय सुरक्षाको विषय बनाउँदै आएकाले पनि यो विषयले ठूलो तरङ्ग ल्याएको छ।

जेन्सन ह्वाङले आफू श्रीमतीप्रति निष्ठावान् रहन नसकेको स्वीकार गर्दै परिवारसँग माफी मागेका छन्। उनले एनभिडियाको सुरक्षा र अमेरिकाको राष्ट्रिय सुरक्षाप्रति प्रतिबद्ध रहेको भन्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएका छन्।

कात्तिक २४, २०८३ मंगलबार १८:१७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।