पोखरामा जिप दुर्घटना : एकको मृत्यु, १२ जना घाइते
कास्की : पोखरा महानगरपालिका-२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप गए राति सडकबाट अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका १३ जनालाई उद्धार गरी उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा पुर्याइएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका पर्वत घर भई हाल पोखरा महानगरपालिका-२४ पामे बस्दै आएका २३ वर्षीय मिलन गुरुङको मृत्यु उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिए। दुर्घटनामा घाँटीछिनाका १५ वर्षीय विवेक विक, चैनपुरका १६ वर्षीय विवश पराजुली र पोखरा-२३ का १४ वर्षीय अमित सुनार घाइते भएका छन्।
त्यस्तै, घाँटीछिनाकै १८ वर्षीया अनिशा नेपाली, १२ वर्षीय उज्ज्वल सुनार, ११ वर्षीय निशान नेपाली, १४ वर्षीय सन्देश नेपाली, २० वर्षीय मुस्कान गुरुङ, १२ वर्षीय आसिस सुनार र १३ वर्षीय सन्जल सुनार घाइते भएका छन्।
यसैगरी, सोही ठाउँका १९ वर्षीया निशा नेपाली र २० वर्षीय दिपिन खत्री घाइते भएको प्रहरी निरीक्षक देवकोटाले जानकारी दिए। घाइतेहरूको अवस्था मध्यम रहेको र टाउको, हात, खुट्टालगायत शरीरका भागमा चोट रहेको बताइन्छ।
प्रहरीले जिपका चालक पोखरा-२४ लौरुक बस्ने २३ वर्षीय टोकबहादुर गुरुङलाई नियन्त्रणमा लिएको र दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
कात्तिक २६, २०८३ बिहीबार १०:४५:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।