ट्रम्पले गरे युद्धमन्त्री हेग्सेथको बचाउ, महाभियोग प्रस्तावको विरोध
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य कारबाहीलाई लिएर महाभियोगको दबाब सामना गरिरहेका युद्धमन्त्री पीट हेग्सेथको बचाउ गरेका छन्।
सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले हेग्सेथले दुईवटा युद्ध जितेको दाबी गर्दै महाभियोगको पहल गर्ने रिपब्लिकन सांसद थोमस म्यासीलाई ‘हारेको व्यक्ति’ भन्दै आलोचना गरे।
हेग्सेथले दुई युद्ध जितेको बताउँदै ट्रम्पले इरानविरुद्धको कारबाहीमा १८ अमेरिकी सैनिकको मृत्यु भएको र भियतनाम युद्धमा ६५ हजार अमेरिकीले ज्यान गुमाएको स्मरण गरे।
उनले इराक र अफगानिस्तान युद्ध सञ्चालन गर्ने नेतृत्वमाथि महाभियोग नलगाइएको भन्दै हेग्सेथलाई मात्रै निशाना बनाउनु अनुचित भएको तर्क गरे।
केन्टकीका सांसद थोमस म्यासीले कार्यकारी अधिकारको दुरुपयोग र इरानसँग युद्ध सुरु गर्न गैरकानूनी आदेश कार्यान्वयन गरेको आरोप लगाउँदै हेग्सेथविरुद्ध महाभियोग प्रस्ताव पेस गरेका छन्। सदनको नियमअनुसार यस प्रस्तावमाथि बुधबारसम्म प्रक्रियागत मतदान हुनुपर्नेछ।
यसैबीच, हेग्सेथले मङ्गलबार पेन्टागनमा पत्रकार सम्मेलन गरी महाभियोग प्रस्तावबारे धारणा सार्वजनिक गर्ने बताएका छन्। ट्रम्पले इरानको आणविक पूर्वाधार ध्वस्त पारेर आणविक क्षमता हासिल गर्नबाट रोकिएको र अमेरिकी कारबाहीले इजरायल तथा मध्यपूर्वको सुरक्षा गरेको दाबी गरे। सदनका डेमोक्रेटिक नेता हकीम जेफ्रीजले पनि हेग्सेथविरुद्धको महाभियोग पहललाई समर्थन गरेका छन्।
कात्तिक २४, २०८३ मंगलबार १४:०३:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।