मिथिलामा आज ‘अन्नकुट’ पर्व मनाइँदै

मिथिलामा आज ‘अन्नकुट’ पर्व मनाइँदै

काठमाडौं : पौराणिक मिथिलाञ्चल क्षेत्रका मठमन्दिरहरूमा आज विधिपूर्वक ‘अन्नकुट’ पर्व मनाइँदै छ। त्रेतायुगमा भगवान राम अयोध्या फर्केको खुसियालीमा ५६ प्रकारका परिकार बनाएर भव्य भोज गरिएको धार्मिक मान्यतालाई जीवन्त राख्दै जनकपुरधामसहित मिथिलाञ्चलका अधिकांश मठमन्दिरमा यो परम्परालाई वर्षौंदेखि निरन्तरता दिइँदै आएको छ।

जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रका अधिकांश मठ मन्दिरहरुमा अन्नकुटको भोज हुने परम्परा रहेको जनकपुरधामस्थित सीता कुण्डका महन्थ राम नरेश दासले बताए। 

अन्नकुट पर्वको मुख्य आकर्षण भगवान रामलाई अर्पण गरिने ५६ प्रकारका खाद्यान्न परिकार हुन्। अन्नकुटकालागि जनकपुरधामका प्रमुख मठ मन्दिरहरू जानकी मन्दिर, राममन्दिर, विहार कुण्ड, अग्निकुण्ड तथा सीताकुण्डमा विशेष तयारी गरिएको छ।

दासका अनुसार साधुसन्त, महन्थ र सर्वसाधारणलाई अर्पित खाद्यान्न प्रसाद स्वरूप वितरण गरिन्छ। विगतमा सयौंको संख्यामा मात्र सहभागी हुने अन्नकुटमा पछिल्ला वर्षहरूमा १० हजार भन्दा बढी स्थानीय सहभागी हुने गरेको दासले बताए।

विश्व शान्ति र मानव कल्याणको कामना गर्दै प्रत्येक वर्ष आयोजना हुने अन्नकुट पर्वमा ठूला राजनैतिक, धार्मिक र सामाजिक व्यक्तित्वहरू समेत उपस्थित भएर भगवानको दर्शन गरी प्रसाद ग्रहण गर्ने गर्छन। अन्नकुटको तयारीका निम्ति स्थानीयहरु नै सहभागी भई परिकारहरु तयारी गर्ने गरेका छन्। यस वर्ष तिथिको हेरफेरका कारण कतिपय स्थानमा हिजो नै अन्नकुट मनाइएको छ।

कात्तिक २४, २०८३ मंगलबार १३:१५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।