चिनियाँ ‘जासुस’ भनिएकी महिलासँग प्रेम सम्बन्ध स्वीकारेपछि एनभिडियाका सीईओ विवादमा
एजेन्सी : विश्वकै ठूला प्रविधि कम्पनीमध्येको एक एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङ चिनियाँ जासुस भनिएकी एक महिलासँगको विवाहेत्तर सम्बन्धका कारण गम्भीर विवादमा तानिएका छन्।
हुआङले उक्त सम्बन्ध स्वीकार्दै सार्वजनिक रूपमा माफी मागेपछि कम्पनीको सञ्चालक समितिले यस विषयमा स्वतन्त्र छानबिन सुरु गरेको छ।
अमेरिकी गुप्तचर निकायहरूले सिंगापुरस्थित ‘मेगास्पिड’ नामक डेटा सेन्टर कम्पनीकी पूर्वप्रबन्ध निर्देशक एलिस हुआङ चिनियाँ गुप्तचर निकाय (एमएसएस) सँग जोडिएको दाबी गरेका थिए।
अमेरिकी मिडियाहरूका अनुसार उनले अत्याधुनिक एआई चिप प्रविधि र अमेरिकी नीतिसम्बन्धी सूचना संकलन गर्न जेन्सन हुआङसँग सम्बन्ध बनाएको आशंका गरिएको छ।
आइतबार आफ्ना कर्मचारीहरूलाई एक पत्र पठाउँदै ६१ वर्षीय जेन्सन हुआङले पत्नी र परिवारप्रति आफू अविश्वस्त बनेको भन्दै गल्ती स्वीकार गरेका छन्।
उनले भनेका छन्, ‘मैले गरेको गल्तीको कुनै बहाना हुन सक्दैन, म यसप्रति गहिरो दुःख व्यक्त गर्दछु। म एनभिडियाको रक्षा गर्न र अमेरिकी राष्ट्रिय सुरक्षाको समर्थन गर्न पूर्ण रूपमा प्रतिबद्ध छु।’
कम्पनीको अडान र स्वतन्त्र छानबिन
एनभिडियाको बोर्डले बाह्य कानुनी सल्लाहकारको नेतृत्वमा यस घटनाको स्वतन्त्र अनुसन्धान सुरु गरिएको जनाएको छ।
कम्पनीका अनुसार हालसम्म कुनै गोप्य प्रविधि वा राष्ट्रिय सुरक्षामा आँच आएको प्रमाण फेला परेको छैन। छानबिन प्रक्रिया जारी रहे पनि जेन्सन सिइओको जिम्मेवारीमै रहने कम्पनीले जनाएको छ।
यस विवाद सार्वजनिक भएसँगै सोमबार अमेरिकी सेयर बजार खुल्दा एनभिडियाको सेयर मूल्यमा सुरुवातमै ८ प्रतिशतसम्मको तीव्र गिरावट आएको थियो। यद्यपि, केही समयपछि सुधार भई गिरावट ४ प्रतिशतको हाराहारीमा सीमित भएको छ।
समग्र अमेरिकी बजार (नास्डाक र एसएन्डपी ५००) मा सामान्य वृद्धि देखिए पनि एनभिडियामा आएको गिरावटले लगानीकर्ताहरू सशंकित देखिएका छन्।
राजनीतिक प्रतिक्रिया र चीनको खण्डन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयमा प्रतिक्रिया दिँदै हुआङलाई ‘असल व्यक्ति’ भन्दै तर ‘पछाडि के भइरहेको हुन्छ भन्न सकिन्न’ भन्ने टिप्पणी गरेका छन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यसबारे पहिले नै गोप्य मेमो तयार पारेको विवरण सार्वजनिक भए पनि उनले हाल फ्रान्सको पेरिसमा आयोजित जी-७ बैठकका क्रममा थप टिप्पणी गर्न अस्वीकार गरेका छन्।
अर्कोतर्फ, चीन सरकारले भने यी आरोपहरूको कडा खण्डन गरेको छ। चिनियाँ विदेश मन्त्रालय र सरकारी सञ्चारमाध्यमहरूले यसलाई आधारहीन आशंका र चीनलाई बदनाम गर्ने अमेरिकी षड्यन्त्रको संज्ञा दिएका छन्।
कात्तिक २३, २०८३ सोमबार २१:४२:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।