चितवनमा तालिमप्राप्त कुकुरसहित प्रहरीको विशेष सुरक्षा निगरानी

चितवनमा तालिमप्राप्त कुकुरसहित प्रहरीको विशेष सुरक्षा निगरानी
फाइल तस्बिर

चितवन : तिहारको समयमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सवारी र सर्वसाधारणको चाप हुने स्थानमा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालयले तिहार लक्षित गर्दै विष्फोटक पदार्थ र लागुऔषध पहिचान गर्ने तालिमप्राप्त दुई वटा कुकुर परिचालन गरेको हो। कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार तिहारको समयमा पटकाजन्य वस्तुको ओसारपसार हुनसक्ने सम्भावित नाकाहरूमा समेत सो कुकुरको परिचालन गरिएको छ। 

उनले भने, “मानिसको भिडभाड हुने स्थानमा लागुऔषध तथा विष्फोटक पदार्थको ओसारपसार हुनसक्ने भएकाले उच्च निगरानी बढाएका हौ।” तिहार लक्षित सुरक्षा योजना निर्माण गरी आठ सयभन्दा बढी प्रहरी परिचालन गरिएको उनले बताए। सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ।

तिहारको समयमा खेलिने देउसी भैलो रातको १० बजेसम्म मात्र खेल्न सबैलाई आग्रह गरिएको उनले बताए। उनले भने, “देउसी भैलो खेल्नेहरूलाई राति १० बजेसम्म घर फर्कन सूचना जारी गरी गरिएको छ।”

कात्तिक २४, २०८३ मंगलबार १०:२५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।