पोल्याण्डमा २५ वर्षीय युवकले कारभित्रैबाट गोली चलाउँदा ६ जनाको मृत्यु; १६ घाइते, आक्रमणकारीकै घरमा थप ३ शव भेटिए

पोल्याण्डमा २५ वर्षीय युवकले कारभित्रैबाट गोली चलाउँदा ६ जनाको मृत्यु; १६ घाइते, आक्रमणकारीकै घरमा थप ३ शव भेटिए

एजेन्सी : पोल्याण्डको दोस्रो ठूलो शहर क्राकोभको मुख्य बजार क्षेत्रमा २५ वर्षिय युवकले अन्धाधुन्द गोली हान्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

प्रहरीले आक्रमणकारीको घरमा छापा मार्दा थप तीन जनाको शव फेला पारेको छ। प्रहरीले क्राकोभभन्दा करिब २०० किलोमिटर टाढा रहेको आक्रमणकारीको घरमा छापा मार्दा उनका आमाबाबु र २१ वर्षीया बहिनीको शव फेला परेको छ।

स्थानीय समय अनुसार अपराह्न ३ बजेतिर पर्यटकको घुइँचो हुने क्राकोभको ऐतिहासिक बजार क्षेत्रमा एक व्यक्तिले गुडिरहेको कारभित्रैबाट सर्वसाधारणमाथि अन्धाधुन्द गोली चलाउन सुरु गरेका थिए। गोली चल्न थालेपछि बजार क्षेत्रमा भागदौड मच्चिएको थियो। आक्रमणकारीले गुडिरहेको ट्रामलाई समेत लक्षित गरी गोली चलाएका थिए, जसका कारण ट्रामका सिसा फुटेपनि यात्रुहरू भने जोगिन सफल भए।  

प्रहरीले आक्रमण सुरु भएको तीन मिनेटभित्रै ती युवकमाथि गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो। २५ वर्षीय ती युवकको प्रहरीको निगरानीमा अस्पतालमा उपचार भइरहेको छ।  

आक्रमणमा चार महिला र दुई पुरुष गरी ६ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकहरूमध्ये तीन जना पोलिश नागरिक र एक जना बेलायती नागरिक रहेका छन्। आक्रमणकारी र दुई प्रहरी अधिकारीसहित १६ जना घाइते भएका छन्। घाइते विदेशी नागरिकहरू अस्ट्रिया, बेलायत, जर्मनी, पोर्चुगल र रुसका रहेका छन्।  

ती युवकलाई पक्राउ गर्ने क्रममा तीनवटा गोली लागेका वरिष्ठ कन्स्टेबल याकुब कुलिकको अवस्था निकै गम्भीर रहेको जनाइएको छ।

२५ वर्षीय पोलिश नागरिक रहेका संदिग्ध आक्रमणकारीले सैनिक पोसाक र बुलेटप्रुफ ज्याकेट लगाएका थिए। उनको कारबाट थप हतियार र ठूलो मात्रामा गोलीगट्टा बरामद गरिएको छ।

पोल्याण्डका गृहमन्त्रीका अनुसार प्रारम्भिक अनुसन्धानले आक्रमणकारी उग्र-दक्षिणपन्थी विचारधाराबाट प्रभावित रहेको देखाएको छ।

पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले घटना स्थलको निरीक्षण गर्दै यसलाई निर्दयी आतङ्कवादी हमलाको संज्ञा दिएका छन्। क्राकोभ शहरका मेयर लुकास गिबालाले आगामी बुधबारसम्म सहरमा औपचारिक शोकको घोषणा गरेका छन्।यसैबीच बेलायत, अमेरिका, युक्रेन तथा युरोपेली सङ्घका कूटनीतिज्ञहरूले घटनाको भर्त्सना गर्दै पोल्याण्डप्रति संवेदना व्यक्त गरेका छन्।

कात्तिक २२, २०८३ आइतबार १५:१६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।