यू-१९ एसिया कप : युएईसँग नेपाल सात विकेटले पराजित, लगातार दोस्रो हार

यू-१९ एसिया कप : युएईसँग नेपाल सात विकेटले पराजित, लगातार दोस्रो हार

काठमाडौं : ओमानमा जारी एसिसी यू-१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ। आइतबार सम्पन्न खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई) सँग सात विकेटले पराजित भएको हो।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो। यसअघि खेलेको आफ्नो पहिलो खेलमा पनि नेपाल भारतसँग १० विकेटको फराकिलो अन्तरले पराजित भएको थियो।

भारतसँगको भारी हारपछि युएईविरुद्ध लय समात्ने अपेक्षा गरिएको भए पनि नेपाली टोली कमजोर ब्याटिङका कारण पुनः पराजित हुन पुग्यो। यता पहिलो खेलमा पराजित भएको युएईले भने नेपाललाई हराउँदै प्रतियोगितामा जितको खाता खोलेको छ।

ओमानको अल अमरात क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले कमजोर सुरुवात गर्यो। नेपालले ४१ ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र १५३ रन बनाउन सक्यो।

नेपालका लागि सोहेल कुँवरले ३३ र सचिन भट्टले ३२ रन बनाए भने निरजकुमार यादव र दर्श सोनारले समान १६-१६ रनको योगदान दिए। बलिङतर्फ युएईका नसीम खानले उत्कृष्ट प्रदर्शन गर्दै आठ ओभरमा एक मेडनसहित ४३ रन खर्चेर सर्वाधिक पाँच विकेट लिए।

नेपालले प्रस्तुत गरेको १५४ रनको सामान्य लक्ष्य युएईले ३४.४ ओभरमा मात्र ३ विकेट गुमाएर सहजै पूरा गर्यो। युएईको जितमा अयान मिस्बाहले अविजित ७५ रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले।

यस्तै, आयिन किरण राईले ३२, अहमद खुदादादले २४ र ओमर तौकिरले ११ रन जोडे। बलिङतर्फ नेपालका कप्तान विपिन रावल, नितेश पटेल र सुशील रावलले एक-एक विकेट लिए पनि टोलीको हार टार्न सकेनन्।

लगातार दुई हारसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना निकै कठिन बनेको छ। नेपालले अब प्रतियोगिताको आफ्नो तेस्रो खेलमा मङ्गलबार पाकिस्तानको सामना गर्नेछ।

कात्तिक २२, २०८३ आइतबार १९:५०:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।