लुम्बिनीमा फस्टाउँदै पुष्प व्यवसाय : १२ जिल्लामा २७९ मेट्रिक टन उत्पादन, साढे ७ करोडको कारोबारको प्रक्षेपण

लुम्बिनीमा फस्टाउँदै पुष्प व्यवसाय : १२ जिल्लामा २७९ मेट्रिक टन उत्पादन, साढे ७ करोडको कारोबारको प्रक्षेपण

बुटवल : कुनै समय तिहार र छठका लागि बाहिरी जिल्ला वा भारतबाट आउने फूलमा भर पर्नुपर्ने लुम्बिनी प्रदेश पछिल्ला वर्षहरूमा पुष्प व्यवसायमा आत्मनिर्भरतातर्फ अग्रसर हुन थालेको छ।

यस वर्ष प्रदेशका १२ वटै जिल्लामा गरी ५९ हेक्टर जमिनमा व्यावसायिक फूलखेती गरिएको छ, जहाँबाट २७९ मेट्रिक टन फूल उत्पादन हुने अनुमान छ।

तिहार र छठ पर्वलाई लक्षित गरी गरिएको यो उत्पादनबाट प्रदेशभर सात करोड ५६ लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण कृषि निर्देशनालयको छ।

पछिल्ला वर्षहरूमा किसानको आकर्षण बढेसँगै प्रदेशमा फूलखेतीको क्षेत्रफल र उत्पादन दुवैमा उल्लेखनीय विस्तार भएको छ।

सयपत्रीको वर्चस्व, ६० लाखको मखमली
लुम्बिनी प्रदेश कृषि निर्देशनालयका अनुसार यस वर्ष उत्पादित फूलमा सबैभन्दा ठूलो हिस्सा सयपत्रीको छ। प्रदेशभर २५९ मेट्रिक टन सयपत्री उत्पादन हुने अनुमान गरिएको छ, जसको बिक्रीबाट मात्रै करिब ६ करोड ९४ लाख ५३ हजार रुपैयाँ आम्दानी हुने आँकलन छ।

त्यसैगरी, १८.५ मेट्रिक टन मखमली फूल उत्पादन हुने र त्यसबाट करिब ६० लाख ५० हजार रुपैयाँको कारोबार हुने अनुमान छ। यसबाहेक गुलाब लगायतका ‘कट फ्लावर’को उत्पादन पनि साना स्तरमा भइरहेको छ।

कृषि निर्देशनालयका कृषि प्रसार अधिकृत नवीन गैरेका अनुसार चाडपर्वमा फूलको माग उच्च हुने र छोटो समयमै राम्रो प्रतिफल पाइने भएकाले किसानहरू व्यावसायिक फूलखेतीतर्फ आकर्षित भएका हुन्।

क्षेत्रफलमा कपिलवस्तु अगाडि, कमाइमा दाङ र बाँकेको प्रतिस्पर्धा
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये फूलखेती गरिएको क्षेत्रफलका हिसाबले कपिलवस्तु अगाडि देखिए पनि उत्पादकत्व र आम्दानीमा भने दाङले बाजी मारेको छ।

दाङमा ८.८ हेक्टर क्षेत्रफलमा फूलखेती गरिएको छ। यहाँ ४८.५ मेट्रिक टन उत्पादन भई १ करोड ५२ लाख ३० हजार रुपैयाँको कारोबार हुने अनुमान छ।

बाँकेले दाङलाई कडा टक्कर दिएको छ। ५ हेक्टरमा खेती गरिएको बाँकेमा ३८.५ मेट्रिक टन उत्पादन र १ करोड ५१ लाख ७५ हजार रुपैयाँको कारोबार हुने प्रक्षेपण छ। दाङ र बाँकेबीचको कारोबार अन्तर जम्मा ५५ हजार रुपैयाँ मात्र छ।

रुपन्देही कारोबारका आधारमा तेस्रो स्थानमा छ। यहाँ २.८३ हेक्टर जमिनमा मात्र खेती गरिए पनि ४२.४५ मेट्रिक टन उत्पादन हुने अनुमान छ। थोरै जमिनमा धेरै उत्पादन निकाल्दै रुपन्देहीले १ करोड ४८ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार गर्ने देखिएको छ।

सबैभन्दा धेरै २१ हेक्टरमा फूल रोपेको कपिलवस्तु भने आम्दानीमा चौथो स्थानमा छ। यहाँबाट ४८ मेट्रिक टन उत्पादन र १ करोड ३ लाख २० हजार रुपैयाँ कारोबार हुने अनुमान छ।

त्यस्तै, पाल्पामा ५ हेक्टरमा ३९ मेट्रिक टन उत्पादनसहित ७७ लाख ४० हजार र नवलपरासी पश्चिममा ३.७५ हेक्टरबाट ६२ लाख ५० हजार रुपैयाँको कारोबार हुने अनुमान छ।

पहाडी जिल्लाहरू गुल्मीमा १७ मेट्रिक टन (४.७५ हेक्टर), रोल्पामा ८ मेट्रिक टन (१ हेक्टर), प्यूठानमा साढे ५ मेट्रिक टन, अर्घाखाँचीमा ३ मेट्रिक टन र रुकुम पूर्वमा साढे २ मेट्रिक टन उत्पादन हुने प्रक्षेपण छ।

सबैभन्दा कम कारोबार भने बर्दियामा हुने देखिएको छ, जहाँ १.२३ हेक्टरमा २ मेट्रिक टन उत्पादन भई ४ लाख ७१ हजार रुपैयाँ मात्र कारोबार हुने आँकलन छ।

तीन महिनाको खेती, मनग्य आम्दानी
सयपत्री फूलखेतीको मुख्य विशेषता भनेको छोटो समयमा लिन सकिने प्रतिफल हो।

कृषि प्रसार अधिकृत गैरेका अनुसार बिरुवा सारेपछि धेरै स्याहारसुसार गर्नु नपर्ने र करिब तीन महिनासम्म निरन्तर उत्पादन लिन सकिने भएकाले किसानका लागि यो खेती नगदे बालीको आकर्षक विकल्प बनेको छ।

उत्पादन बढे पनि चाडपर्वको उच्च माग धान्न अझै स्थानीय उत्पादन पर्याप्त नरहेको प्राविधिकहरू बताउँछन्।

“स्थानीय उत्पादनले बजारको माग अझै पूर्ण रूपमा थेग्न सकेको छैन, त्यसैले चितवन र नवलपरासी लगायतका जिल्लाबाट समेत लुम्बिनीमा फूल ल्याउनुपर्ने अवस्था छ”, अधिकृत गैरेले भने।

प्लास्टिकका माला विस्थापनको प्रयास : १७ फार्म तोकिए
यसैबीच, स्थानीय किसानको बजार सुनिश्चित गर्न र वातावरण जोगाउन स्थानीय तहहरूले समेत सक्रियता देखाएका छन्।

बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाले भारतबाट आयात हुने प्लास्टिकजन्य कृत्रिम फूलमाला प्रयोग नगर्न नगरवासीलाई अपिल गरेका छन्।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले स्थानीय उत्पादनलाई बजार दिन र वातावरण तथा जनस्वास्थ्य जोगाउन यस्तो कदम चालिएको बताए।

उपमहानगरले पुष्प व्यवसायीहरूसँग समन्वय गरी बुटवलका विभिन्न १७ वटा कृषि फार्मबाट ताजा फूल सिधै खरिद गर्न सकिने प्रबन्ध मिलाएको छ।

कात्तिक २१, २०८३ शनिबार ११:३३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।