युद्ध सुरु हुँदाभन्दा इरानी सेना अहिले अझ बलियो र उच्च मनोबलमा छ : सैन्य प्रवक्ता
एजेन्सी : संयुक्त राज्य अमेरिका र इजरायलसँग युद्ध सुरु हुँदाको तुलनामा इरानी सेना अहिले अझ शक्तिशाली र उच्च मनोबलमा रहेको इरानले दाबी गरेको छ।
इरानी सरकारी समाचार संस्था ‘इर्ना’ का अनुसार सेनाका प्रवक्ता मोहम्मद अक्रामिनियाले प्रत्यक्ष सैन्य मुठभेडबाट अनुभव हासिल गरेपछि इरानी सशस्त्र बल पहिलेभन्दा बढी सतर्क र सशक्त बनेको बताएका छन्।
उनले भनेका छन्, “इस्लामिक गणतन्त्रका सशस्त्र बल अहिले युद्ध सुरु हुँदाको अवस्थाभन्दा अझ बलिया भएका छन्। सेनामा अहिले उच्च प्रेरणा, प्रतिबद्धता र आत्मविश्वास छ।”
गत फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि भीषण आक्रमण सुरु गरेपछि भड्किएको युद्ध महिनौँदेखि गतिरोधको अवस्थामा छ।
यसैबीच, विश्वको कुल तेल खपतको करिब २० प्रतिशत ढुवानी हुने रणनीतिक जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ मा इरानी सेनाको पूर्ण नियन्त्रण रहेको प्रवक्ता अक्रामिनियाले दाबी गरे।
अमेरिकाले तेहरानका मागहरू स्वीकार नगरेसम्म यो जलमार्ग बन्द रहने बताउँदै उनले सर्वोच्च नेताको आदेशअनुसार इरानी सेनाको जबाफ तत्काल, प्रभावकारी र कुनै भौगोलिक सीमाबिना हुने चेतावनी दिएका छन्।
यसै साता अमेरिकी सञ्चारमाध्यमहरूले होर्मुज जलमार्गमा अवस्थित इरानको केश्म टापुमा आक्रमण भएको खबर सार्वजनिक गरेका थिए भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि नयाँ आक्रमण भएको पुष्टि गरेका थिए।
इरानी स्थानीय समाचार संस्था ‘तस्निम’ र सरकारी टेलिभिजनका अनुसार शनिबार केश्म टापुमा दुईवटा क्षेप्यास्त्र प्रहार तथा विस्फोट भएको छ। यद्यपि, त्यसबाट भएको क्षतिबारे आधिकारिक विवरण सार्वजनिक गरिएको छैन।
यसैबीच, इरानी सेनाले शनिबार बिहान आफ्नो हवाई प्रतिरक्षा प्रणालीमार्फत सोही टापुमाथि उडिरहेको अमेरिकी ड्रोन खसालेको दाबी गरेको छ। तर टापुमा भएको आक्रमण र ड्रोन खसालिएको घटनाबीचको सम्बन्धबारे भने थप केही खुलाइएको छैन।
कात्तिक २१, २०८३ शनिबार १०:२३:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।