मध्य जापानमा ५.७ म्याग्निच्युडको भूकम्प : २४ घाइते, बुलेट रेल सेवा प्रभावित

मध्य जापानमा ५.७ म्याग्निच्युडको भूकम्प : २४ घाइते, बुलेट रेल सेवा प्रभावित

एजेन्सी : मध्य जापानमा आइतबार बिहान पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २४ जना घाइते भएका छन्। भूकम्पका कारण भवनका झ्यालका सिसा फुट्नुका साथै रेल सेवा पनि अवरुद्ध भएको अधिकारी तथा स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार टोकियोको पश्चिममा पर्ने सिजुओका प्रिफेक्चरमा स्थानीय समयअनुसार बिहान १ः०४ बजे भूकम्प गएको थियो। भूकम्पपछि सुनामीको चेतावनी भने जारी गरिएको छैन।

भूकम्पबाट कसैको मृत्यु भएको खबर प्राप्त नभए पनि पसलका झ्यालका सिसा फुटेका छन् भने दराज र र्याकमा राखिएका सामान खसेका छन्।

आइची क्षेत्रका एक आपत्कालीन सेवा अधिकारीका अनुसार सामान्य चोटपटक लागेका १६ जनाबारे जानकारी प्राप्त भएको छ। छिमेकी सिजुओका क्षेत्रका अधिकारीहरूले कम्तीमा तीन महिलाले उपचारका लागि अस्पताल पुगेको बताएका छन्। तीमध्ये ९० वर्ष उमेर समूहकी एक महिला भूकम्पको धक्काले ओछ्यानबाट खस्दा काँधमा चोट लागेको थियो।

स्थानीय पत्रिका चुनिची सिम्बुन र तोकाई टेलिभिजनले छुट्टाछुट्टै समाचारमा आइची र सिजुओका क्षेत्रमा कम्तीमा २४ जना घाइते भएको जनाएका छन्।

आइचीको तोयोहासी सहरमा एउटा कार प्रदर्शनी कक्षका झ्यालका सिसा फुटेका छन्। त्यस्तै, टोयोटा शहरको ठूलो पुस्तक पसलमा दराजबाट किताब तथा अन्य सामान खसेका छन्।

भूकम्पका कारण आइतबार बिहान क्षेत्रीय रेल सेवासहित सिन्कान्सेन बुलेट रेलको सञ्चालनमा समेत ढिलाइ र अवरोध भएको थियो। भूकम्पको धक्का पश्चिममा ओसाकासम्म महसुस गरिएको थियो।

स्थानीय सञ्चारमाध्यमका अनुसार ओसाकामा एक विदेशी नागरिक भूकम्पको धक्काले आत्तिएर आफ्नो अपार्टमेन्टको दोस्रो तलाबाट खसेपछि अस्पताल भर्ना भएका छन्। यसबारे ओसाका अधिकारीबाट थप जानकारी प्राप्त हुन सकेको छैन।

यसैबीच, मौसम विज्ञान एजेन्सीका अनुसार आइतबार बिहान कुमामोतो क्षेत्रमा चार दशमलव तीन म्याग्निच्युडको अर्को भूकम्प गएको छ। उक्त भूकम्पबाट कुनै गम्भीर क्षति वा मानवीय चोटपटक भएको तत्काल खबर प्राप्त भएको छैन।

जापान प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले यहाँ हरेक वर्ष सयौँ भूकम्प जाने गर्छ। सन् २०११ मा गएको नौ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि आएको सुनामीमा परी करिब १८ हजार ५०० जनाको मृत्यु वा बेपत्ता भएका थिए। उक्त विपत्तिले फुकुसिमा आणविक केन्द्रमा समेत ठूलो क्षति पुर्याएको थियो।

कात्तिक २२, २०८३ आइतबार १४:४०:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।