ग्वाटेमालामा सांसद लक्षित सशस्त्र आक्रमण : तीन प्रहरीको मृत्यु, सांसद जोगिए

ग्वाटेमालामा सांसद लक्षित सशस्त्र आक्रमण : तीन प्रहरीको मृत्यु, सांसद जोगिए

एजेन्सी : ग्वाटेमालामा एक सांसदलाई लक्षित गरी गरिएको सशस्त्र आक्रमणमा परेर तीन जना प्रहरीको मृत्यु भएको छ। सुरक्षाकर्मीले आक्रमण विफल पारेपछि लक्षित सांसद भने सकुशल बच्न सफल भएका छन्।

स्थानीय अग्निनियन्त्रक अधिकारी बायरन भास्क्वेजका अनुसार शुक्रबार पूर्वी ग्वाटेमालाको जाकापा प्रान्तस्थित रियो होन्डो सहरमा सांसद जुलियो पोर्टिलोमाथि अज्ञात समूहले आक्रमण गरेको थियो।

गृहमन्त्रालयले ज्यान गुमाउने तीनै जना राष्ट्रिय नागरिक प्रहरी (नेसनल सिभिल पुलिस) का सदस्य रहेको पुष्टि गरेको छ।

सांसदलाई लक्षित गरी गरिएको प्रत्यक्ष आक्रमणलाई प्रहरीले प्रतिकार गरी विफल पारेको र सोही क्रममा उनीहरूको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

आक्रमणकारीहरू घटनास्थलबाट फरार रहेकाले उनीहरूको पहिचान खुल्न सकेको छैन।

घटना भएको जाकापा क्षेत्र लागूऔषध तस्करीका लागि कुख्यात मानिन्छ। उक्त क्षेत्रमा मेक्सिकोको सिनालोआ कार्टेलसँग सम्बन्ध रहेको ‘लोरेन्जाना’ परिवारको आपराधिक गिरोहको बलियो प्रभाव छ।

सांसद पोर्टिलो सन् २०२३ मा विपक्षी दल ‘काबाल’ बाट निर्वाचित भएका थिए। पछि उनी पूर्वप्रथम महिला सान्ड्रा टोरेस नेतृत्वको ‘नेसनल युनिटी अफ होप’ पार्टीमा प्रवेश गरेका थिए।

टोरेस आगामी वर्ष ग्वाटेमालामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्ने अपेक्षा गरिएको छ।

कात्तिक २१, २०८३ शनिबार १२:५१:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।