चीनलाई हराउँदै नेपाल यु-१९ महिला टोलीको लगातार चौथो जित
काठमाडौं : चीनमा जारी यु-१९ ‘बेल्ट एन्ड रोड सिरिज’मा नेपाली युवा महिला क्रिकेट टोलीले लगातार चौथो जित निकालेको छ। शनिबार भएको खेलमा नेपालले आयोजक चीनलाई ८४ रनले पराजित गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४१ रन बनाएको थियो। नेपालका लागि टीका शाहले ३५ बलमा अविजित ४३ रन बनाइन्। कप्तान सोनी पाख्रिनले ३१, सावित्री धामीले २४ र साना प्रवीनले १३ रनको योगदान दिइन्।
चीनका चुनजुङ वाङ र शुतिङ याङले दुई-दुई विकेट लिए।
नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको चीन १३.३ ओभरमा ५७ रनमा समेटियो। चीनका युफेई सुनले २७ बलमा सर्वाधिक २८ रन बनाइन्।
नेपालका रचना चौधरी र टीका शाहले तीन-तीन विकेट लिए। ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेकी टीका ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।
प्रतियोगितामा नेपालसहित आयोजक चीन, हङकङ र थाइल्याण्ड सहभागी छन्। नेपालले आगामी वर्ष घरेलु मैदानमा आयोजना हुने आइसिसी यु-१९ महिला विश्वकपको तयारीस्वरूप चीनमा शृङ्खला खेलिरहेको हो।
कात्तिक २१, २०८३ शनिबार १५:२४:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।