उस्मान ख्वाजाको सनसनीपूर्ण खुलासा- ‘स्यान्डपेपर’ काण्डबारे पूरै अस्ट्रेलियन टोली जानकार थियो

उस्मान ख्वाजाको सनसनीपूर्ण खुलासा- ‘स्यान्डपेपर’ काण्डबारे पूरै अस्ट्रेलियन टोली जानकार थियो

एजेन्सी : अस्ट्रेलियाका पूर्व प्रारम्भिक ब्याटर उस्मान ख्वाजाले सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्धको चर्चित ‘स्यान्डपेपर’ काण्डबारे सम्पूर्ण अस्ट्रेलियन टोलीलाई पहिल्यै जानकारी रहेको सनसनीपूर्ण खुलासा गरेका छन्।

आफ्नो आत्मकथा ‘सबर’मा ख्वाजाले बल बिगार्न ‘स्यान्डपेपर’ प्रयोग गर्ने योजना केही खेलाडीमा मात्र सीमित नरहेको उल्लेख गरेका छन्।

उनले भनेका छन्, “यसमा हामी सबै सम्मिलित थियौँ। ब्याटर, बलर वा सपोर्ट स्टाफ मात्र होइन, पूरै टोलीलाई यसबारे थाहा थियो।”

सन् २०१८ को केपटाउन टेस्टका क्रममा अस्ट्रेलियाका क्यामरन बेनक्रफ्टले बल बिगार्न ‘स्यान्डपेपर’ अर्थात खाक्सी कागज दलेको दृश्य टेलिभिजन क्यामेराले कैद गरेको थियो।

बललाई ‘रिभर्स स्विङ’ गराउन गरिएको उक्त हर्कत सार्वजनिक भएपछि तत्कालीन कप्तान स्टिभ स्मिथ, उपकप्तान डेभिड वार्नर र ब्याटर बेनक्रफ्टमाथि विभिन्न अवधिको प्रतिबन्ध लगाइएको थियो।

यद्यपि, उक्त खेल खेलेका मुख्य चार बलरहरू- प्याट कमिन्स, मिचेल स्टार्क, जोस हेजलवुड र नाथन लायनले भने आफूहरूलाई मैदानमा सन्डपेपर लगिएकोबारे कुनै जानकारी नभएको भन्दै निरन्तर अस्वीकार गर्दै आएका छन्।

ख्वाजाका अनुसार बल बिगार्ने विषयमा ड्रेसिङ रुमभित्रको खुला छलफल शृङ्खलाको दोस्रो टेस्ट (पोर्ट एलिजाबेथ) बाटै सुरु भएको थियो। त्यहीँ सन्डपेपरलाई प्रभावकारी माध्यमका रूपमा पहिचान गरिएको उनको दाबी छ।

ख्वाजाले लेखेका छन्, “त्यसपछि स्मिथले दुवै हात उठाउँदै आफू यसबारे थप केही जान्न र सुन्न नचाहेको बताएका थिए।”

‘तीनै जना मात्र बलिको बोको बने’
८८ टेस्ट खेलिसकेका ख्वाजाले उक्त घटनापछि टोलीका रूपमा सबैले सामूहिक जिम्मेवारी लिनुपर्छ भनेर आफूले ड्रेसिङ रुममा आवाज उठाएको बताएका छन्।

“मैले भनेको थिएँ- जे भयो टोलीका रूपमा भयो, त्यसैले यसको जिम्मेवारी पनि हामी सबैले लिनुपर्छ,” ख्वाजाले भनेका छन्, “तर त्यसो भएन र ती तीन जनालाई मात्र बलिको बोको बनाइयो।”

आठ वर्ष बितिसक्दा पनि पूर्ण सत्य बाहिर नआएकाले आफूले किताबमार्फत यसबारे बोल्नुपरेको उनले स्पष्ट पारेका छन्।

यता, अस्ट्रेलियाका वर्तमान टेस्ट कप्तान प्याट कमिन्सले ख्वाजाले किताब निकाल्न लागेको जानकारी आफूलाई पहिले नै दिएको बताएका छन्। उनले यो धेरै पुरानो घटना भइसकेको र त्यतिबेलै सबै छानबिन सकिइसकेकाले यस विषयलाई लिएर अहिले कुनै चिन्ता नरहेको प्रतिक्रिया दिएका छन्।

कात्तिक २१, २०८३ शनिबार ०७:५९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।