ठमेलको ट्राफिक व्यवस्थापनमा दुई विकल्प- ‘वान वे’ वा ‘भेहिकल फ्रि जोन’
काठमाडौं : पर्यटकीय क्षेत्र ठमेलको ट्राफिक समस्या समाधानका लागि ‘एकतर्फी सवारी सञ्चालन’ (वान वे) वा ‘सवारी निषेधित क्षेत्र’ (भेहिकल फ्रि जोन) बनाउने दुई विकल्प अघि सारिएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ठमेलको ट्राफिक व्यवस्थापन चुस्त बनाउन स्थानीय सरकार, व्यवसायी, घरधनी र स्थानीय बासिन्दाबीच सर्वसम्मत निर्णय आवश्यक रहेको जनाएको छ।
शुक्रबार ठमेल क्षेत्रको ट्राफिक व्यवस्थापनसम्बन्धी छलफलमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले स्थानीयस्तरबाट आउने साझा निर्णय कार्यान्वयन गर्न ट्राफिक प्रहरी तयार रहेको बताए।
“ठमेललाई वान वे बनाउने हो वा सवारी निषेधित क्षेत्र, स्थानीयस्तरमै छलफल गरी सर्वसम्मत निर्णय लिनुहोस्,” एसएसपी काफ्लेले भने, “त्यसलाई कार्यान्वयन गर्न आवश्यक जनशक्ति परिचालन गर्न र सहयोग गर्न ट्राफिक प्रहरी तयार छ।”
उनले ठमेलमा बढ्दो सवारी चाप, अव्यवस्थित पार्किङ र मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने प्रवृत्ति मुख्य चुनौती रहेको उल्लेख गरे।
पार्किङ समस्या समाधानका लागि काठमाडौं महानगरपालिकासँग समन्वय गर्न आग्रह गर्दै उनले ठमेलको व्यावसायिक आचारसंहितामा ट्राफिक व्यवस्थापनका बुँदाहरू अनिवार्य समेटिनुपर्नेमा जोड दिए।
गैरकानुनी गतिविधि रोक्न प्रजिअको चेतावनी
कार्यक्रममा काठमाडौँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईश्वर पौडेलले ठमेल नेपालको पर्यटनको प्रमुख केन्द्र भएकाले यसको सुरक्षा, व्यवस्थापन र व्यावसायिक गतिविधिलाई मर्यादित बनाउनुपर्ने बताए।
राज्यले सम्भावना बोकेका प्रमुख पर्यटकीय गन्तव्यलाई प्राथमिकतामा राखेर पूर्वाधार तथा नीतिगत लगानी गर्नुपर्ने उनको भनाइ थियो।
प्रजिअ पौडेलले ठमेलमा पर्यटन व्यवसायको आवरणमा हुने अव्यवस्थित तथा गैरकानुनी गतिविधिप्रति चिन्ता व्यक्त गरे।
गैरकानुनी कार्यमा संलग्न विदेशी नागरिकमाथि अनुसन्धान गरी डिपोर्ट गर्ने प्रक्रिया चलिरहेको जानकारी दिँदै उनले ठमेलको पहिचान जोगाउन शान्ति सुरक्षा, विधिको शासन र निष्पक्ष व्यवसायमा कुनै सम्झौता नहुने स्पष्ट पारे।
कात्तिक २१, २०८३ शनिबार ०९:३४:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।