खैरो हेरोइनसहित सुर्खेतमा चार जना पक्राउ, साथमा भेटियो सशस्त्रका सहायक हवल्दारको परिचयपत्र
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरबाट १२ ग्रामभन्दा बढी खैरो हेरोइन सहित चार जना पक्राउ परेका छन्।
पक्राउ परेकाहरूको साथबाट सशस्त्र प्रहरी बलको परिचयपत्र र नियुक्ति पत्रसमेत बरामद भएपछि घटनाले नयाँ मोड लिएको छ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतको टोलीले वीरेन्द्रनगर नगरपालिका-१३ करेखोलाबाट सुरुमा २३ वर्षीय रुपेश घर्ती मगर र २७ वर्षीय कुमार बहादुर रास्कोटीलाई ३.१९० ग्राम खैरो हेरोइनसहित रंगेहात समातेको थियो।
उनीहरूसँगको सोधपुछ र अनुसन्धानका आधारमा प्रहरीले तत्कालै गिरोहका अन्य दुई सदस्यलाई समेत नियन्त्रणमा लिन सफल भयो।
वीरेन्द्रनगर-१२ बाट ३५ वर्षीय नवराज चालिसे र ३१ वर्षीय बालाराम पौडेल थप ८.८३० ग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्।
पक्राउ परेकामध्ये नवराज चालिसेको साथबाट सशस्त्र प्रहरीको ‘सहायक हवल्दार’ को परिचयपत्र र रुपेश घर्ती मगरको साथबाट ‘सशस्त्र प्रहरी परिचर’को नियुक्तिको प्रमाणपत्र फेला परेको प्रहरीले जनाएको छ।
उनीहरू सुरक्षा निकायमै कार्यरत हुन् वा नक्कली कागजात प्रयोग गरेका हुन् भन्नेबारे थप अनुसन्धान भइरहेको छ।
ब्यूरोका अनुसार उनीहरूबाट कुल १२.०२ ग्राम खैरो हेरोइन र ४ थान मोबाइल बरामद गरिएको छ। पक्राउ परेका चारै जनालाई थप अनुसन्धान र कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइएको छ।
कात्तिक २१, २०८३ शनिबार १०:४१:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।