आज काग तिहार मनाइँदै

आज काग तिहार मनाइँदै

काठमाडौं : कात्तिक कृष्ण त्रयोदशीका अवसरमा आज यमराजको दूतका रूपमा कागको पूजाआजा गरी काग तिहार मनाइँदै छ। बिहानै कागलाई मीठामीठा परिकार खान दिएर खुसी पार्ने धार्मिक परम्परा छ।

सूर्योदयकालमा त्रयोदशी तिथि परेका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय विधान रहेकाले आज (शनिबार) यो पर्व मनाइएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए।

धार्मिक मान्यताअनुसार यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले उसलाई यमदूत मानिन्छ। कागले यमराजसमक्ष शुभ समाचार पुर्याओस् भन्ने कामनासहित पूजाआराधना गर्ने चलन छ।

त्यस्तै, घरवरपर काग आएर कराएमा ‘शुभ बोल, शुभ बोल’ भन्दै सन्देशवाहकका रूपमा लिने लोकविश्वास पनि रहिआएको छ।

काग तिहारका अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-१ स्थित कागेश्वरी महादेव मन्दिर र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा कागको विशेष पूजाआराधना भइरहेको छ।

दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वास तिहार पर्वसँग जोडिएको छ।

यमयातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा दक्षिण फर्काएर यमदीप दान गर्ने क्रम भने शुक्रबार साँझदेखि नै सुरु भइसकेको छ।

यस वर्ष तिथिको घटबढका कारण शुक्रबार साँझ नै त्रयोदशी तिथि परेकाले यमपञ्चक सुरु भएको हो। धन र समृद्धि स्थिर राख्ने धार्मिक विश्वासका साथ गरगहना तथा तामाका भाँडाकुँडा किनेर मनाइने ‘धनतेरस’ पर्व पनि शुक्रबार नै मनाइएको छ।

कात्तिक २१, २०८३ शनिबार ०७:३१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।