लक्ष्मीपूजामा १७ सय मेगावाट बिजुली माग हुने प्रक्षेपण, उत्पादन कति?

लक्ष्मीपूजामा १७ सय मेगावाट बिजुली माग हुने प्रक्षेपण, उत्पादन कति?

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको साँझ विद्युत्को अधिकतम (पिक) माग करीब १ हजार ७०० मेगावाट पुग्ने प्रक्षेपण गरेको छ।

उक्त समयमा आन्तरिक उत्पादन भने करीब २ हजार ५०० मेगावाट हुने भएकाले तिहारमा विद्युत् आपूर्तिमा कुनै समस्या नहुने प्राधिकरणले स्पष्ट पारेको छ।

मागभन्दा उत्पादन करीब ८०० मेगावाट बढी हुने भएकाले आन्तरिक उत्पादनले नै तिहारको माग सहजै धान्ने प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले जानकारी दिए।

यो समयमा उद्योग तथा कलकाखाना बन्द हुने भएकाले अधिकतम माग घटेको हो।

उनका अनुसार तिहार तथा छठ पर्वमा विद्युत् आपूर्ति नियमित र गुणस्तरीय बनाउन उत्पादन, प्रसारण तथा वितरण प्रणालीमा विशेष व्यवस्था मिलाइएको छ।

पर्वको समयमा विद्युत् आपूर्तिमा अवरोध हुन नदिन प्राधिकरणले प्राविधिक टोलीलाई २४सै घण्टा स्ट्यान्डबाइ राख्ने भएको छ।

कार्यकारी निर्देशक श्रेष्ठको नेतृत्वमा बसेको वरिष्ठ व्यवस्थापन तथा मातहतका प्रादेशिक कार्यालय प्रमुखहरूको बैठकले प्रसारण लाइन, सबस्टेसन र वितरण प्रणालीको मर्मतसम्भार कार्य तत्काल सम्पन्न गर्न निर्देशन दिएको छ।

त्यस्तै, उपभोक्ताका गुनासो तत्काल सम्बोधन गर्न भार प्रेषण केन्द्र (एलडीसी), ग्रिड र वितरण केन्द्रबीच निरन्तर समन्वय रहने तथा ‘नो लाइट’ सेवामा फोन नियमित उठाउने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।

यसैबीच, प्राधिकरणले तिहार र छठका बेला विद्युतीय उपकरण तथा झिलिमिली बत्ती सुरक्षित रूपमा प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ।

गुणस्तरहीन सामग्री प्रयोग नगर्न, विद्युतीय समस्या देखिए आफैँ मर्मत नगरी दक्ष प्राविधिकको सहयोग लिन र आवश्यक परे नजिकको वितरण केन्द्र वा ‘नो लाइट’ मा सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ।

कात्तिक २१, २०८३ शनिबार ०९:२२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।