नयाँदिल्लीको वायु प्रदूषण : जाडो सुरु हुँदै गर्दा फेरि उकुसमुकुसको अवस्था

नयाँदिल्लीको वायु प्रदूषण : जाडो सुरु हुँदै गर्दा फेरि उकुसमुकुसको अवस्था

एजेन्सी : प्रत्येक वर्ष झैँ यस वर्ष पनि हिउँद सुरु भएलगत्तै भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषण खतरनाक स्तरमा पुगेको छ।

चिसो मौसम, मन्द हावा, छिमेकी राज्यहरूमा पराल बाल्ने प्रचलन, सवारी साधनको धूवाँ र निर्माण कार्यका कारण दिल्लीको आकाशमा विषालु तुवाँलो छाएको छ।

प्रदूषण नियन्त्रण गर्न दिल्ली सरकारले नोभेम्बर १ देखि फेब्रुअरी २८ सम्म लागु हुने गरी हिउँद कार्ययोजना ल्याएको छ।

यस योजना अन्तर्गत पुराना सवारी साधनको प्रवेशमा रोक, निर्माण कार्यमा प्रतिबन्ध, र कार्यालयहरूमा ५० प्रतिशत कर्मचारीलाई वर्क फ्रम होम (घरबाटै काम) गराउने जस्ता नियमहरू लागु गरिएका छन्।

तर, विज्ञहरूको भनाइमा कागजी रूपमा योजना राम्रो देखिए पनि यसको कार्यान्वयन पक्ष फवल नभएसम्म प्रदूषण रोक्न कठिन छ।

यसबाहेक, दिल्लीभित्र मात्रै कडाइ गरेर नपुग्ने र छिमेकी राज्यहरूसँगको उद्योग, यातायात, ऊर्जामा दीर्घकालीन लक्ष्य बनाएर काम गर्नुपर्ने उनीहरूको सुझाव छ।

प्रदूषणका कारण दिल्लीको एयर क्वालिटी इन्डेक्स ३०० भन्दा माथि पुगेको छ भने कतिपय क्षेत्रमा यो ५०० भन्दा बढी रेकर्ड गरिएको छ।

यसले गर्दा मानिसहरूलाई श्वास फेर्न गाह्रो हुने, आँखा पिरो हुने र स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको छ। नागरिकहरू घरभित्रै बस्न, एयर प्युरिफायर प्रयोग गर्न र मास्क लगाउन बाध्य छन्।

वर्षौंदेखि चल्दै आएको यो समस्याका कारण विकल्प नभएका स्थानीय बासिन्दाहरू प्रदूषित वातावरणमै जीवन बिताउन विवश छन्।

कात्तिक २०, २०८३ शुक्रबार ०८:१०:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।