युरोपमा बमको धम्कीपछि कैयौँ उडान डाइभर्ट, लडाकु विमानको स्कर्टिङमा आपत्कालीन अवतरण

युरोपमा बमको धम्कीपछि कैयौँ उडान डाइभर्ट, लडाकु विमानको स्कर्टिङमा आपत्कालीन अवतरण

एजेन्सी : बम राखिएको धम्की आएपछि युरोपभरका कयौँ यात्रुवाहक उडानहरू बिहीबार आपत्कालीन रूपमा डाइभर्ट गरिएका छन् भने केही विमानको उडान रोकिएको छ। एयर लिङ्गस, विज एयर र एलओटी पोलिस एयरलाइन्सलगायतका कम्पनीका विमानहरू धम्कीका कारण प्रभावित भएका हुन्।

यस हप्ताभित्र युरोपेली आकाशमा यस्तो किसिमको सुरक्षा चेतावनी आएको यो दोस्रो पटक हो।

डब्लिनबाट रोमतर्फ उडिरहेको एयर लिङ्गसको एयरबस ए३२० विमानमा बमको अलर्ट आएपछि फ्रान्सको फोभिलस्थित एभ्रेक्स सैन्य हवाई अड्डामा डाइभर्ट गरिएको थियो। फ्रान्सेली प्रधानमन्त्री कार्यालयका अनुसार १५१ जना यात्रु र ६ जना चालक दलका सदस्यहरू सवार उक्त विमान सुरक्षित रूपमा अवतरण भएको छ।

विमान ट्र्याकिङ साइटहरूलाई उद्धृत गर्दै एसोसिएटेड प्रेसका अनुसार पेरिस नजिकै पुग्दा विमानले आफ्नो मार्ग मोडेर केही फन्को लगाएपछि एभ्रेक्सतर्फ मोडिएको थियो। फ्रान्सेली प्रधानमन्त्रीको कार्यालयले बमको धम्कीपछि डाइभर्ट गरिएको विमानको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। 

फ्रान्सेली प्रधानमन्त्री कार्यालयले जारी गरेको वक्तव्यमा भनिएको छ, "स्थितिमाथि प्रत्यक्ष रूपमा निगरानी राखिँदैछ। सैनिक बम डिस्पोजल टोलीले विमानको परीक्षण गरिरहेको छ।"

यसैगरी, बिहीबार इटालीको मिलानबाट पोल्यान्डको वार्सातर्फ उडिरहेको विज एयरको विमानमा उडानकै क्रममा धम्की आएपछि अस्ट्रियाको भियनामा डाइभर्ट गरिएको विज एयरका प्रवक्तालाई उद्धृत गर्दै एपीले जनाएको छ।

उता वार्साबाट फ्रान्सको पेरिसका लागि उड्न लागेको एलओटी पोलिस एयरलाइन्सको विमानलाई धावनमार्गमा गुडिरहेको अवस्थामा रोकी पार्किङ क्षेत्रमा लगेर सुरक्षा जाँच गरिएको थियो। एपीका अनुसार अधिकारीहरूले विमानमा कुनै पनि जोखिमपूर्ण वस्तु फेला नपरेको बताएका छन्।

यस्तै, बुल्गेरियाका सञ्चारमाध्यमका अनुसार थप तीन वटा विमानलाई बुल्गेरियाका विमानस्थलहरूमा अवतरण गराइएको छ।

​मङ्गलबार पनि आएको थियो बमको धम्की

यसअघि मंगलबार युरोपका करिब १० वटा उडानलाई बमको धम्की आएको थियो। जसका कारण विमानहरू डाइभर्ट हुनुका साथै एउटा विमानलाई इटालीको वायुसेनाले स्कोर्ट गरेर अवतरण गराएको थियो। उक्त घटनामा रोयानायरका चारवटा उडानहरू बढी प्रभावित भएका थिए भने वार्सा विमानस्थल केही समयका लागि बन्द गर्नुपरेको थियो।

लन्डनको मेट्रोपोलिटन प्रहरीले घटनाबारे पुष्टि गर्दै भनेको छ, "हिथ्रो विमानस्थलबाट प्रस्थान गर्ने वा आगमन हुने चारवटा विमानहरूविरुद्ध आएको धम्कीबारे हामीलाई जानकारी गराइएको थियो।"

सबै विमानहरू सुरक्षित रूपमा अवतरण गरेपछि गरिएको खोजतलासका क्रममा कुनै पनि विस्फोटक पदार्थ फेला नपरेको जनाइएको छ।

कात्तिक १९, २०८३ बिहीबार १८:०५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।