आईसीसी विश्वकप छनोट प्लेअफको पहिलो खेलमा नेपालले कीर्तिपुरमा इटालीको सामना गर्ने

आईसीसी विश्वकप छनोट प्लेअफको पहिलो खेलमा नेपालले कीर्तिपुरमा इटालीको सामना गर्ने

काठमाडौं : सन् २०२७ मा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकपको यात्राअन्तर्गत अत्यन्त महत्त्वपूर्ण मानिएको नेपालमा आयोजना हुने ‘आईसीसी विश्वकप छनोट प्लेअफ’को पहिलो खेलमा इटालीको सामना गर्ने भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म नेपालमा सञ्चालन हुने तालिका सार्वजनिक गरेको हो।

राउन्ड रोबिन प्रणालीमा खेलाइने प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुनेछन्। आठ टोली सहभागी हुने यस प्लेअफबाट शीर्ष चार टोलीले १० टोली सम्मिलित ‘ग्लोबल क्वालिफायर’ मा स्थान बनाउनेछन्।

प्रतियोगिताको उद्घाटन दिन डिसेम्बर ४ मा घरेलु टोली नेपालले कीर्तिपुर मैदानमा इटालीको सामना गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ। सोही दिन मूलपानी मैदानमा नामिबिया र युगान्डाबीच खेल हुनेछ।

प्रतियोगितामा आयोजक नेपालसहित क्यानडा, कुवेत, जर्सी, संयुक्त अरब इमिरेट्स (युएई), नामिबिया, युगान्डा र इटालीले प्रतिस्पर्धा गर्नेछन्। नेपालले आफ्ना सबै सातवटै खेल कीर्तिपुरस्थित घरेलु मैदानमै खेल्ने तालिका छ।

नेपालका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन्। नेपालले डिसेम्बर ४ मा इटाली, डिसेम्बर ६ मा युगान्डा,  डिसेम्बर १० मा युएई, डिसेम्बर १२ मा जर्सी, डिसेम्बर १४ मा क्यानडा, डिसेम्बर १८ मा  नामिबिया र डिसेम्बर २१ मा कुवेतविरुद्ध खेल्नेछ।

विश्वकप २०२७ सम्मको मार्ग
यस प्लेअफबाट छानिने शीर्ष चार टोलीले आगामी वर्ष हुने १० टोलीको ‘ग्लोबल क्वालिफायर’ खेल्न पाउनेछन्।

ग्लोबल क्वालिफायरमा टेस्ट राष्ट्र वेस्ट इन्डिज र आयरल्यान्डसहित लिग-२ को शीर्ष चारमा रहेका अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमान यसअघि नै पुगिसकेका छन्।

ग्लोबल क्वालिफायरको विजेता टोली सन् २०२७ को विश्वकपको समूह चरणमा सोझै प्रवेश गर्नेछ भने दोस्रो, तेस्रो र चौथो हुने टोलीहरूले ‘सुपर सिरिज’ मार्फत विश्वकपमा पुग्ने मौका पाउनेछन्।

१४ टोली सम्मिलित सन् २०२७ को पुरुष एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा संयुक्त रूपमा आयोजना हुँदैछ।

घरेलु मैदान र समर्थकको पूर्ण साथ पाउने भएकाले नेपालका लागि यस पटक विश्वकप छनोटको यात्रा तय गर्न यो प्रतियोगिता उत्कृष्ट अवसर बन्ने देखिएको छ।

कात्तिक २१, २०८३ शनिबार ०७:४२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।