तिहार बिदामा पनि दैनिक चार घण्टा खुल्नेछ काठमाडौं जिल्ला अदालत

तिहार बिदामा पनि दैनिक चार घण्टा खुल्नेछ काठमाडौं जिल्ला अदालत

काठमाडौं : तिहार बिदाको अवधिमा पनि काठमाडौँ जिल्ला अदालतबाट निश्चित आकस्मिक तथा अत्यावश्यक न्यायिक सेवाहरू प्रवाह हुने भएको छ।

अदालतले एक सूचना जारी गर्दै बिदाको समयमा पनि निश्चित दिनहरूमा दैनिक चार घण्टा सेवा सञ्चालन गरिने जानकारी दिएको हो।

अदालतका स्रेस्तेदार (उप-सचिव) ज्ञानेन्द्र अधिकारीद्वारा जारी सूचनाअनुसार कात्तिक २१ देखि २६ गतेसम्म तिहार बिदाका अवसरमा अदालतका नियमित काम बन्द रहे तापनि शनिबार (कात्तिक २१) र भाइटिकाको दिन (कात्तिक २५) बाहेकका दिनहरूमा अदालत खुला रहनेछ।

ती दिनहरूमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएका सेवाहरू प्रवाह गरिने अदालतले जनाएको छ।

बिदाको समयमा अदालतबाट बन्दीप्रत्यक्षीकरण, म्याद थप, कल डिटेल्स अनुमति, पक्राउ अनुमति, धरौटी रकम दाखिला र जरिवाना दाखिलाको काम हुनेछ।

नागरिकको व्यक्तिगत स्वतन्त्रता, आधारभूत हक र फौजदारी अनुसन्धानका अत्यावश्यक प्रक्रियाहरू बिदाका कारण रोकिएर नागरिक मर्कामा नपरून् भन्ने उद्देश्यले अदालतले बिदामा पनि यी सेवाहरू खुला राखेको जनाएको छ।

कात्तिक २०, २०८३ शुक्रबार १२:४४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।