त्रिभुवन विमानस्थलमा ब्यागेजको अवस्था थाहा पाउने ‘लाइभ फिड’ सेवा सुरु
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी, भरपर्दो र व्यवस्थित बनाउन ‘लाइभ फिड’ सेवा सुरु गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहलमा अन्तर्राष्ट्रिय टर्मिनलको यात्रु आगमन कक्षस्थित लगेज सङ्कलन क्षेत्रमा यो प्रविधि सञ्चालनमा ल्याइएको हो।
यो सेवा सुरु भएसँगै अन्तर्राष्ट्रिय उडानबाट नेपाल आएका यात्रुले जहाजबाट सामान झारेर ब्यागेज बेल्टसम्म पुर्याउँदासम्मका सम्पूर्ण गतिविधि डिस्प्ले स्क्रिनमार्फत प्रत्यक्ष हेर्न पाउनेछन्।
यस व्यवस्थाले आफ्नो सामान कुन अवस्थामा छ र आइपुग्न कति समय लाग्छ भन्नेबारे यात्रुलाई पूर्वजानकारी पाउन सहज हुनेछ।
ब्यागेज व्यवस्थापन क्षेत्रको प्रत्यक्ष दृश्य देखिने भएपछि सामान आउन हुने ढिलाइ र अन्योल अन्त्य भई यात्रुको प्रतीक्षा समय थप सहज हुने विश्वास लिइएको छ।
सेवा प्रवाहमा पारदर्शिता कायम राख्दै आधुनिक प्रविधिको प्रयोगमार्फत विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विकास गर्ने योजनाअन्तर्गत यो सेवा सुरु गरिएको मन्त्रालयले जनाएको छ।
कात्तिक २०, २०८३ शुक्रबार १०:३६:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।